Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला , श्रीमान् र ससुरा पक्राउ

एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला , श्रीमान् र ससुरा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८२ मंगलवार • ०६:५८:१० बजे
  • 385
    SHARES
  • एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला , श्रीमान् र ससुरा पक्राउ

    कञ्चनपुरको बेलडाँडी–२ की एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ ।

    images


    कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार १८ वर्षीया सम्झना भट्ट आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या दुरुत्साहनसँग सम्बन्धित रहेको देखिएको छ ।


    'पीडितको माइती पक्षले श्रीमान् र उनको परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्,' डीएसपी बोहराले भने ।


    सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरूको भनाइ छ ।

    माइती पक्षको जाहेरीका आधारमा प्रहरीले सम्झनाका २४ वर्षीय श्रीमान् पवन भट्ट र उनका बुवा हरिदत्त भट्टलाई पक्राउ गरेको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी बोहराले बताए ।

    अनुसन्धानका क्रममा सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । सुरुमा प्रेम विवाह गरे पनि पछि दुवै परिवारले त्यसलाई समर्थन गरेको देखिन्छ । यद्यपि, विवाहपछि श्रीमान्–श्रीमतीबिच विवाद सुरु भएको थियो ।

    डीएसपी बोहराका अनुसार घटना हुनुभन्दा केही दिनअघि शनिबार मात्रै उनीहरूबिच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुवैलाई सम्झाई–बुझाई घर पठाएको थियो ।

    पीडितका माइती पक्षले दिएको जाहेरीमा दाइजोको विषय पनि उल्लेख गरिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतकले अन्तिम पटक कोसँग कुरा गरेकी थिइन् भन्नेबारे पनि सोधपुछ गरिरहेको छ । मृतकले आफ्नो बुबासँग अन्तिम पटक मेसेजमा कुरा गरेको देखिएको र यसबारे बुबासँग पनि सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान जारी रहेको र सबै कोणबाट छानबिन गरिने डीएसपी बोहराले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology