कुवेत — बागलुङ सेवा समाज कुवेतको आयोजनामा अल मुजैनीको मुख्य प्रायोजक रहेको 'प्रथम बागलुङ- अल मुजैनी कप' भलिबल प्रतियोगितामा लुम्बिनी समाज कुवेतले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जितेको छ ।
फाहहिलस्थित सोक सभाको खेलकुद मैदानमा सम्पन्न भलिबल प्रतियोगितामा विभिन्न ११ टिमले सहभागीता जनाएका थिए जसमा लुम्बिनी समाज कुवेतले तनहुँ सेवा समाज कुवेतलाई हराउदै उपाधि जितेको हो ।

समाजका अध्यक्ष दिपक नेपालीको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाली दूतावास कुवेतका श्रम सहचारी जनार्दन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष द्वय बिकास बहादुर सिह, दिल कुमार पाख्रीन लगायतको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न नेपाली संघ सस्थाका प्रमुख, प्रतिनिधि , पत्रकार लगायत खेलप्रेमी नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विजेता टिमले मेडल र नगद सहित २११ कुवेती दिनार हात पार्यो भने उपविजेता टिमले मेडल र नगद १११ कुवेती दिनार हात पारेको छ । त्यस्तै उत्कृष्ट टिम पुरस्कार नेपाल स्टारले पाएको छ ।

उक्त प्रतियोगितामा लुम्बिनी समाज कुवेत, तनहुँ सेवा समाज कुवेत, युनिभर्सल , मगर संघ शाखा कुवेत, कल्याणकारी नेपाली युवा समाज कुवेत, नवलपुर, एन एफ सी , नेपाल स्टार , लमजुङ मालिका, आयोजक सेतो र निलो बीच कडा प्रतिस्पर्धा भएको थियो । कुवेतको नेपाली समाजमा यस प्रतियोगिताले प्रवासी नेपाली समुदायबीचको एकतालाई मजबुत बनाएको छ ।
