केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।
सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे ।
ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्एका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए । उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन् ।
ढकालले भने, ‘कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पुर्याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।’