काठमाडौं, राहदानी विभागले जारी गरेको सूचनाअनुसार, करिब १ देखि ३ हप्तासम्म राहदानी सेवा बन्द हुने भएको छ। जिल्ला/इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवामा १ देखि ३ हप्तासम्म बन्द हुने भएको हो ।
त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब १ हप्तासम्म बन्द हुन सक्नेछ । नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको जनाउँदै विभागले अबको १/२ महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म सेवा बन्द हुन सक्ने देखिएको विभागले जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन १ देखि ३ महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालभन्दा बढी समय लाग्न सक्ने पनि विभागले जनाएको छ।
सोही कारण आगामी ६ महिनासम्म (२०८३ असोजभित्र) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअगावै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरिएको छ।
विभागले नयाँ प्रणाली सुरु हुने मिति र यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत दिने जनाएको छ । नागरिकहरूलाई यो सूचनालाई ध्यानमा राख्न र आवश्यक समयमा राहदानीका लागि आवेदन दिन अनुरोध गरिएको छ । नयाँ प्रणालीको कार्यान्वयनले भविष्यमा राहदानी सेवा प्रवाहमा सहज र छिटो हुने आशा गरिएको छ ।
