Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहुँच हुने घर पुगे, नहुने क्वारेन्टाइनमा

पहुँच हुने घर पुगे, नहुने क्वारेन्टाइनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ०८:२४:५९ बजे
  • 1.9K
    SHARES
  • पहुँच हुने घर पुगे, नहुने क्वारेन्टाइनमा

    विराटनगर महानगरपालिका १० की ३६ वर्षीया महिला र ६ महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

    images

    वडाध्यक्ष माधवराज वाग्लेका अनुसार आमा र छोरा दुवैको पीसीआर रिपोर्ट पोजेटिभ आयो। मारवाडी समुदायकी ती महिला श्रीमानसँग लकडाउनपूर्व सुत्केरी गराउन भारतको सिलिगुडी माइत गइन्। ६ महिने बच्चा लिएर उनीहरू असार १ गते विराटनगर फर्किएको वडाध्यक्ष वाग्लेले बताए।

    व्यापारी एवं मारवाडी समुदायका भएकाले उनीहरूको पहुँच माथिसम्म थियो। त्यही पहुँचका भरमा उनीहरूलाई घरमा गएर बस्न कसैले पनि रोक्न सकेन।

    क्वारेन्टाइनमा बसेर परीक्षण गर्दै संक्रमण भए नभएको पुष्टि भइसकेपछि मात्रै घरमा जानुपर्ने भए पनि सिधै उनीहरूले आफ्नो घरमा गएर बस्ने अनुमति पाए। वडाध्यक्ष वाग्लेले कागजी प्रक्रिया पूरा गरेर उनीहरूलाई घरमै बस्न अनुमति दिइएको बताए।

    तर पछि परीक्षणका क्रममा महिला र शिशुमा कोरोना पोजेटिभ देखियो। अहिले उक्त परिवार तनावमा छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।

    उनीहरूसँग को को व्यक्ति सम्पर्कमा आए र उनीहरूको सम्पर्कमा रहेका कतिलाई कोरोना संक्रमण छ या छैन भन्ने यकिन हुन बाँकी छ। भारतबाट आए पनि पहुँचका भरमा क्वारेन्टाइन बस्न छाडेर घरमा गएर बस्नुले थप संकट निम्त्याएको छ।

    मोरङमा संक्रमण पुष्टि भएका ९५ प्रतिशत भारतबाट आएकाहरू रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। विराटनगर महानगरपालिकाका एक कर्मचारीले बाहिरबाट आए पनि पहुँच पुग्नेले घरमा जान पाउने र नपुग्नेले क्वारेन्टाइनमा बस्न परिरहेको बताए।

    ‘भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा लगेर सुरक्षित साथ राख्दै परीक्षण गरेर कोरोना संक्रमण भएनभएको पुष्टि गर्नुपर्नेमा त्यसो गरिएन’, उनले भने, ‘घरमा गएर बस्न दिएको केहीदिनमै कोरोना पोजेटिभ देखियो। अहिले उनीहरूको सम्पर्कमा रहेकाहरूको विवरण यकिन हुन नसक्दा अर्को समस्या थपिएको छ। क्वारेन्टाइनमा राखिएको भए संक्रमण फैलिँदैन थियो।’

    महानगरका स्वास्थ्यकर्मीले विदेशबाट आएका भए पनि पहुँचका भरमा घरमा गएर बस्न दिने गरिएको भन्दै विरोध जनाइरहेका छन्। अहिलेको अवस्थामा होम क्वारेन्टाइनका नाममा भारत लगायत अन्य मुलुकबाट आएकालाई सिधै घरमा गएर बस्न दिने हो भने संक्रमण समुदायमा फैलिएर विकराल रुप लिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

    ‘एउटा क्वारेन्टाइनलाई व्यवस्थितसँग चलाउन नसक्ने हामीसँग होम क्वारेन्टाइनको कुनै पनि मापदण्ड पूरा हुन सक्दैन र सकेको पनि छैन’, एक स्वास्थ्यकर्मीले भने, ‘त्यही भएर अहिले बाहिरबाट आएकालाई परीक्षण नगरी होम क्वारेन्टाइनमा पठाएमा यदि पछि कोरोना रहेछ भने अरुलाई सरेर त्यसले विकराल समस्या निम्त्याउँछ।’

    रिपोर्ट नेगेटिभ आएपछि मात्रै होम क्वारेन्टाइनमा बस्ने गरी पठाउनु पर्ने र त्यसअघि क्वारेन्टाइनमै सुरक्षित साथ राखेर परीक्षण गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology