कुवेत - नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा समिति गठन गरिएको छ ।
कुवेतमा कृयाशिल नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको विशेष बैठकले ‘राहत सहयोग संकलन समिति’ गठन गरी सहायता अभियान औपचारिक रूपमा अघि बढाएको छ ।

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई तत्काल राहत पुर्याउन र पुनःस्थापनाका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग जुटाउने निर्णय बैठकले गरेको छ।

नेपाल सरकारले विपद् प्रभावितका लागि संकलन हुने सहयोगलाई 'एकद्वार नीति' अन्तर्गत व्यवस्थित गर्ने निर्णय गरेकाले कुवेतमा संकलन हुने रकम पनि सोही नीति अनुसार व्यवस्थापन गरिने भएको छ । समितिले संकलन गरेको सम्पूर्ण रकम नेपाली राजदूतावास कुवेतमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरिनेछ। यस प्रक्रियाले राहत रकम पारदर्शी र व्यवस्थित रूपमा सरकारी संयन्त्रमार्फत वास्तविक प्रभावित नागरिकसम्म पुग्ने विश्वास गरिएको छ।

बाढी तथा पहिरोपीडित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले गठित समितिमा दिल कुमार पाख्रिन, विकास बहादुर सिंह, सुजन के.सी., होम नाथ गिरी, राज मल्ल, रोशन राई, ईश्वर भण्डारी, केशल घलान, चुडा भट्टराई, जीवन सुनार, युवराज गैरे, इन्दिरा राई, निरज सिङ्ग ठकुरी, रमिता योन्जन, दुर्गा रोक्का, प्रविण थापा तामाङ, खुम रायमाझी र बल बहादुर काम्बाङ रहेका छन्। साथै, कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्षहरूलाई समितिको पदेन सदस्यका रूपमा समावेश गरिएको छ।
सहयोग संकलन तथा रकम हस्तान्तरण प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन कुवेतमा रहेका सम्पूर्ण पत्रकारहरूलाई पर्यवक्षेको भूमिका दिइएको छ। पत्रकारहरूको पर्यवेक्षणले सम्पूर्ण अभियानलाई थप विश्वसनीय र अनुशासित बनाउन सहयोग पुग्ने अपेक्षा छ।
समितिले विपद्को यो समयमा मानवीय सहयोगलाई मुख्य प्राथमिकतामा राख्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थालाई ऐक्यबद्ध हुन अपिल गरेको छ। कुनै पनि राजनीतिक, क्षेत्रीय वा व्यक्तिगत विभेद नगरी विशुद्ध मानवीय भावनाका साथ अभियानमा सहभागी भई आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउन आग्रह गरिएको छ।
प्रवासमा रहेका नेपालीहरूको सानो–सानो आर्थिक सहयोगले पनि स्वदेशमा विपत्तिमा परेका नागरिकका लागि ठूलो राहत र भरोसा बन्न सक्ने भएकाले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।