कुवेत - निरेम समूहको आयोजनामा आगामी ११ सेप्टेम्बर २०२६ का लागि तय गरिएको 'हरितालिका तीज विशेष कार्यक्रम' रद्द गरिएको छ । रसुवास्थित भोटेकोसीमा हालै आएको विनाशकारी बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट उत्पन्न संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै निरेमले उक्त कार्यक्रम रद्द गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका नेपाली महिलाहरूलाई मौलिक चाडपर्वको अवसरमा मनोरञ्जन दिनुका साथै एकापसमा खुसी साटासाट गराउने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको तयारी भइरहेको थियो। तर, स्वदेशमा प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र धेरै नागरिकहरू विस्थापित हुनुपरेको दुःखद घडीमा उत्सव मनाउनु उपयुक्त नहुने ठहर आयोजक समितिले गरेको छ।
कार्यक्रम स्थगनबारे जानकारी गराउँदै निरेम समूहले विपत्तिको यस कठिन समयमा मनोरञ्जनभन्दा मानवीय सहयोग र पीडितहरूको साथमा उभिनु आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ। स्वदेशमा दाजुभाइ तथा दिदीबहिनीहरू बाढी र पहिरोको चपेटामा परेर पीडामा छटपटाइरहेका बेला परदेशमा रहेका नेपालीहरूले पनि उनीहरूकै दुःखमा ऐक्यबद्धता जनाउनु सामाजिक एवं नैतिक दायित्व हुने समूहको भनाइ छ।
प्रवासमा रहेका विभिन्न नेपाली संघ-संस्थाहरूले स्वदेशको संकटका बेला उत्सव तथा मनोरञ्जनात्मक गतिविधिहरू रोकेर राहत र उद्धारमा ध्यान केन्द्रित गर्ने परिपाटीलाई सकारात्मक रूपमा लिइएको छ।