कुवेत - कुवेतबाट सञ्चालित नेपाली डिजिटल सञ्चारमाध्यम 'निरेम अपडेट'को प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला नियुक्त भएका छन्। यसअघि प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका पत्रकार सुरेश बुढाथोकीले कार्यव्यस्तताका कारण निरन्तरता दिन नसक्ने भएपछि सम्पादकीय नेतृत्व निरौलालाई सुम्पिने निर्णय गरिएको हो।
नयाँ जिम्मेवारीसँगै प्रधान सम्पादक निरौलाले प्रवासी नेपाली समुदायका आवाज, समस्या र समसामयिक सवालहरूलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। उनले समाचारको गुणस्तर, विश्वसनीयता, तथ्यपरकता र निष्पक्षतालाई थप सुदृढ बनाउँदै डिजिटल पत्रकारितालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव संगालेका निरौला सन् २००४ देखि छापा पत्रकारितामार्फत यस क्षेत्रमा प्रवेश गरेका थिए। धरानस्थित विजयपुर एफएमका पूर्व स्टेसन म्यानेजरसमेत रहेका उनी सन् २०२४ देखि निरेम प्रोडक्सन्ससँग आबद्ध रहँदै आएका छन्। नेतृत्व तथा क्षमता विकाससम्बन्धी अन्तर्राष्ट्रिय तालिम प्राप्त निरौला सामाजिक तथा परोपकारी पत्रकारितामा सक्रिय मानिन्छन्।
निरेम ग्रुप कुवेतद्वारा सञ्चालित 'निरेम अपडेट'ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका सामाजिक, सांस्कृतिक र आर्थिक गतिविधिलाई डिजिटल माध्यममार्फत नियमित सम्प्रेषण गर्दै आएको छ। संस्थाले निवर्तमान प्रधान सम्पादक सुरेश बुढाथोकीले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वसँगै आफ्नो सञ्चार यात्रालाई अझ जिम्मेवार र विश्वसनीय बनाउने लक्ष्य लिएको छ।