धादिङ - धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडकको ठूलो हिस्सा भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र भौगोलिक संवेदनशीलताका कारण सडक भासिएपछि देशको मुख्य राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको हो।
सडक अवरुद्ध भएसँगै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सयौँ सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। जसका कारण हजारौँ यात्रुहरू गन्तव्यमा पुग्न नसकी बीच बाटोमै अलपत्र परेका छन्। विगतमा पनि पहिरोका कारण चर्चित र संवेदनशील मानिएको कृष्णभीर क्षेत्रमा यसपटक सडकको मुख्य भाग नै भासिएकाले जोखिम थप बढेको छ।
घटनालगत्तै सडक विभाग, नेपाल प्रहरी र स्थानीय प्रशासनको टोली मर्मत तथा पहिरो पन्छाउने कार्यमा खटिएको छ। तर, सडकमा पुगेको ठूलो क्षति र जटिल भूबनोटका कारण सडक मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ।
प्रहरी तथा स्थानीय प्रशासनले सो सडकखण्ड भई यात्रा गर्ने सम्पूर्ण यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेका छन्। साथै, अति आवश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्दा विशेष सावधानी एवं सतर्कता अपनाउनसमेत सर्वसाधारणलाई सूचित गरिएको छ।
काठमाडौँलाई मुलुकका अन्य मुख्य भागहरूसँग जोड्ने यो प्रमुख राजमार्ग थप्प हुँदा यात्रुहरूलाई सास्ती हुनुका साथै अत्यावश्यक वस्तुको आपूर्तिमा समेत प्रभाव पर्ने देखिन्छ। प्राविधिक टोलीहरू सडक खुलाउन निरन्तर प्रयासरत रहेकाले स्थिति सामान्य नभएसम्म धैर्यधारण गर्न र आधिकारिक सूचना पालना गर्न प्रशासनले अनुरोध गरेको छ।