कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका उदयपुरका दुर्गा बहादुर खड्का विगत ४ वर्षदेखि परिवारको सम्पर्क बाहिर रहेका छन्। घरपरिवारको आर्थिक अवस्था सुधार्ने र सुन्दर भविष्य निर्माण गर्ने सपना बोकेर परदेशिएका खड्का लामो समयसम्म सम्पर्कमा नआएपछि उनको परिवार यतिबेला गहिरो पीडा र चिन्तामा डुबेको छ।
मूल घर उदयपुर भई काठमाडौँमा बसोबास गर्दै आएका खड्का सन् २०२२ मा वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए। कुवेत आगमनको पहिलो हप्तामा नै उनी आफू कार्यरत कम्पनी छाडेर हिँडेका थिए। काममा अनुपस्थित भएपछि सम्बन्धित कम्पनीले उनीविरुद्ध स्थानीय नियम अनुसार ‘अब्सकोन्डिङ केस’ (Absconding Case) दर्ता गराएको थियो।

कुवेत सरकारको अद्यावधिक तथ्याङ्क र विवरण अनुसार खड्काले अहिलेसम्म कुवेत छाडेको वा नेपाल फर्किएको कुनै अभिलेख देखिएको छैन। यस आधारमा उनी अझै कुवेतमै रहेको हुनसक्ने अनुमान गरिए पनि हालसम्म परिवार वा आफन्त कसैसँग पनि उनको कुनै सम्पर्क हुनसकेको छैन।
दुर्गा बहादुर खड्काको स्थिति अझै अज्ञात रहेकाले उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले विनम्र अनुरोध गरेका छन्। कुवेतमा क्रियाशील गैरआवासीय नेपाली संघ (NRNA), स्थानीय नेपाली संघ-संस्थाहरू, कूटनीतिक नियोग तथा कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई खड्काको खोजी तथा उद्धारका लागि पहल गरिदिन अपिल गरिएको छ।