तेजिन्द्र श्रेष्ठ - लामो समय वैदेशिक यात्रामा बिताएपछि स्वदेश फर्किएका म्याग्दी जिल्ला बेनि नगरपालिका पुलाचौरका रमेश सुवेदीले विगत दुई वर्षदेखि मुस्ताङको जोमसोममा व्यवसायिक होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक संस्कृति बोकेको मुस्ताङ पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। यही मामिलालाई मध्यनजर गर्दै "स्वदेशमै केही गरौं" भन्ने उद्देश्यका साथ जोमसोममा बसोबास गर्न थालेको सुवेदी बताउँछन्।
तीन होटल, असी कोठा
सुवेदीले विदेशमा आर्जन गरेको व्यवसायिक सीपलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले वि.सं. २०२२ मा 'जोमसोम प्राइड होटल' सञ्चालनमा ल्याए। स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्दै गएसँगै केही वर्षकै अवधिमा उनले 'एमोनाइट', 'थकाली भान्सा घर' र 'गण्डकी फ्रन्ट' गरी जम्मा तीन होटल व्यवसाय सञ्चालन गर्न सफल भएको जानकारी दिएका छन्।
जम्मा ८० कोठा रहेका उक्त होटलहरूमा एकै दिनमा ३०० जना पर्यटकलाई सेवा दिन सकिने उनले बताएका छन्।
पर्यटकको सहजतालाई ध्यानमा राख्दै होटलमा २४ घण्टा तातो र चिसो पानीको व्यवस्था, सुविधा सम्पन्न कोठा तथा आवश्यक अतिथि सेवाको प्रबन्ध गरिएको सुवेदीले बताए।
धार्मिक पर्यटक मुख्य आकर्षण
होटलको मुख्य उद्देश्य विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकलाई सहज आवास उपलब्ध गराउनु रहेको सुवेदीको भनाइ छ। उनले होटल व्यवसायसँगै स्थानीय क्षेत्रमा धेरै व्यक्तिलाई रोजगारी सिर्जना गरेका छन्।
स्वदेशमै उद्यमशीलताको प्रेरणा
वैदेशिक रोजगारीको अनुभव घरैमै उपयोग गर्ने सुवेदीको यो उपलब्धिले स्वदेश फर्केर उद्यमशीलता विकास गर्न चाहने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। लगातार बढ्दो पर्यटक आगमनसँगै मुस्ताङ क्षेत्रको पर्यटन व्यवसायमा यस्ता स्थानीय लगानीले थप जीवन्तता दिएको छ।
पर्यटन क्षेत्रको विस्तारसँगै जिल्लामा आन्तरिक लगानीबाट स्थानीय रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। सुवेदीजस्ता उद्यमीहरूको सफलताले "विदेश जानुभन्दा स्वदेशमै लगानी गरौं" भन्ने सन्देश समेत दिएको छ।