कुवेतमा आगामी नोभेम्बर २० तारिख आयोजना हुन लागेको पूर्वेली टाइगर गोल्डकप प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न झापाली समाज कुवेतले ८२ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ।
पूर्वेली टाइगर क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई सफल बनाउन तथा कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले झापाली समाज कुवेतले सहयोग गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डे, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय सदस्य एवम् झापाली समाज कुवेदका युवा संयोजक सागरजंग क्षेत्री, संरक्षक लोमस बास्तोलाको उपस्थिति रहेको थियो। सो अवसरमा सहयोग रकम पूर्वेली टाइगर क्लबका अध्यक्ष जीवन के केरुङलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी, आगामी दिनमा पनि कुवेतमा रहेका नेपाली समुदायका सामाजिक, खेलकुद तथा अन्य सामुदायिक गतिविधिहरूमा झापाली समाज कुवेतको तर्फबाट सकारात्मक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय सदस्य तथा झापाली समाज कुवेतका युवा संयोजक सागरजंग क्षेत्रीले व्यक्त गर्नुभएको छ।