Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या

बागलुङमा कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २८, २०७७ बुधवार • १७:४८:४८ बजे
  • 1.2K
    SHARES
  • बागलुङमा कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या
    बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।

    दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड–१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६/७ जना बिरामी अस्पताल आउँछन् ।

    “प्यानिक अट््याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उहाँले भन्नुभयो । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ ।

    दिग्दारीपन, आत्तिने÷डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उहाँले बताउनुभयो । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भन्नुभयो, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उहाँले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताउनुभयो ।


    बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताउनुभयो । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उहाँले भन्नुभयो, “कोभिड–१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।”

    नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताउनुभयो । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

    बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गर्नुभयो । वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताउनुभयो ।
    स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उहाँले भन्नुभयो । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताउनुभयो ।

    “शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उहाँले भन्नुभयो । अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ ।

    मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

    “अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उहाँले भन्नुभयो, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ ।

  • सम्बन्धित विषय:

  • # मानसिक समस्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology