Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेशीलाई के दशै के तिहार

प्रदेशीलाई के दशै के तिहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७७ सोमवार • ०९:१४:५८ बजे
  • 6.3K
    SHARES
  • प्रदेशीलाई के दशै के तिहार
    गाँवै रमाइलो,
    देशै रमाइलो...
    दसैं आउँदा मनमा पिर भएनी,
    मनै रमाइलो ...

    दसैंको समयमा प्रदेशीहरुको मन छुने गित । हुन पनि हो गाउँ नै रमाइलो हुन्छ, गाउँमा रमाइलो हुन मेला महोत्सव लाग्नै पर्दैन । दसैं आउँदा दुख कष्ट भएपनी दसैंले मनै रमाइलो गराएको अनुभुती हुन्छ भने गाउँ सँगको सम्बन्ध छुट्टै प्रगाढ हुन्छ । प्रदेशीलाई विकसित मुलुकको सुन्दर शहरहरु भन्दा गाउको तस्बिर देख्दा मन आनन्दित हुनेगर्छ । धर्तीको स्वर्ग जस्तो लाग्छ गाउँ । गाउँको कुना कन्दरा , पाखा पखेरा, कलकल बग्ने पानी अनि चिसो पानी आउने त्यो धारो, घास मलका भारी बोक्दा थकाइ लाग्दा थकाइ मार्ने चौतारी, अनि त्यो क ख सिकेको स्कुल, आफन्तजन इष्टमित्र, छर छिमेकी, बारीका फोटा, खेतका फाँट आहा साच्चै गाउँ नै रमाइलो ।

    गाउघरमा दसैंको माहोल छाएको होला ! मानिसहरु सबै दुख कष्ट भुलेर दसैंको तयारी गर्दै होलान् ! घर रंगरोगन तथा लिपपोत गरेर गाउघर नै उज्यालो भएको होला ! जिल्ला भन्दा बाहिर बस्नेहरु दसैं कै लागी गाउँ फर्किएका होलान् ! उच्च शिक्षा लिन शहर पसेका ठिटाहरु र विदेशबाट दसैं मनाउन घर गएका लाहुरेहरुको भेटघाट पनि भयो होला ! ससाना बालबच्चाहरु नयाँ कपडा किन्न पाउँदा त्यो कपडा लगाउने दिन गन्दै ओल्लोघर र पल्लोघर गर्दै होलान् ! बाहरुले खसीको जोहो गर्दै होलान् ! आमालाइ आफ्नै चटारो होला ! दसैं भन्नासाथ मनमा यस्तै यस्तै कुरा आउने । एउटा गित छनी "पैसा होइन पासो छ परदेशमा" त्यस्तै बनाइदिन्छ चाडपर्वले प्रदेशीहरुको मन ।

    फरक जिबन शैली , फरक भाषा र फरक परिवेश अनि समुन्द्र पारीको देश साच्चै कठिन रहेछ यो यात्रा । हिजो नेपालमा हुँदा विदेश जान पाए सपना पूरा हुन्छ जस्तो लाग्थ्यो आज नेपाल जाने दिन कहिले आउला सपना जस्तो लाग्छ । विदेशमा टेकेको दिन बाट सुरु हुन्छ घर जाने दिन गन्ती । सुरुको तिन वटा महिना त तीन बर्ष भन्दा लामो हुन्छ । त्यो तीन महिनाले व्यक्तिगत जिबनमा यति परिबर्तन ल्याइदिन्छ जिन्दगीलाई सबै कुराको त्याग गर्न सक्ने पाठ पढाई दिन्छ । अनि आफ्ना इच्छा र आकांक्षा आफ्ना हुदैनन् आफ्नो इच्छा भनेको परिवारलाई खुसी राख्ने हुन्छ । परदेशी जिन्दगी बाहिरी आँखाले हेर्दा राम्रो र खुसी देखिए मनमा भने पिडाको पहाड हुन्छ । सबैका आआफ्नो पिडा छन् कसैलाई घर बनाउनु छ, कसैलाई चुहिने छानो फेर्नु छ , कसैलाई बैंकमा धितो भएको घर खेतको लालपुर्जा फिर्ता गर्नु छ, कसैलाई बुढा बाआमाको उपचार गराउनु छ, कसैलाई भाइ बहिनीलाई पढाउनु छ , विवाहदान गर्नु छ, कसैलाई बालबच्चा प्रती जिम्मेवार पुरा गर्नु छ । सबैको थाप्लोमा समस्या नै समस्याको पोको देखिन्छ । 

    तथ्यांकअनुसार साठी लाखको हाराहारीमा नेपालीहरु विदेशी भूमिमा कार्यरत छन् । स्वदेशमा गरिबी, महंगी र बेरोजगारीको चपेटामा परि विदेश हानिएका हामी परदेशिहरुले पसिना सँग पैसा साट्न आफ्नो युवा उमेर, शक्ति र श्रम लिलाम गर्नुपरेको छ । साठी लाख नेपालीको खुन पसिना आफ्नो जन्मभूमिमा लगानी गर्न सक्ने बाताबरण बनिदिए विदेश बस्ने रहर कसैलाई पनि हुदैन । तपाई हामी आफ्नो घर छाडेर अरुको घरमा दुई चार दिन बस्दा आतिन्छौँ तर परदेशीहरु पैसाकै लागि घरपरिवार स्वदेशमै छाडी बर्षौ विदेशी भूमिमा एक्लै संघर्ष गर्दैछन् । देश सानो ठूलो होला ! पैसा कमाइ धेरै थोरै होला तर परदेशीहरु को पीडा एउटै हो । पैसाले घरको आभास दिदैन, पैसाले आमाको माया दिदैन, पैसाले बाको जस्तो सहारा दिदैन । एउटा प्रचलित भनाइ छ नि पैसा साधन हो साध्य होईन भनेर तर के गर्नु पैसाकै कारणले बेचिन बाध्य छौँ हामी परदेशी । 

    निन्द्रा , पैसा र यादरुले सताउने ठाउँलाई विदेश भनिने रहेछ । बिजनेस भिसामा भएका , स-परिवार विदेशमै भएकाहरूलाई परदेश कस्तो हुन्छ थाहा छैन तर श्रमिक भएर परदेशमा बस्नलाई पिडा छ । प्रदेशीहरुको श्रमिक जिबन स्वतन्त्र हुँदैन । स्वतन्त्रता नभएको जिबन पिजडा भित्रको पन्छी जस्तै हुन्छ । परदेशमा श्रमको संमान हुन्छ त्यही अनुसारको पारिश्रमिक हुन्छ तर सुनको पिजडा हुँदैमा पिजडा भित्रको पन्छी खुसी हुँदैन । परदेशी जीवन एक खालको पिजडा हो र परदेशी जिबन पखेटा काटिएको पन्छी जस्तै हो । घरीघरी मन उडेर घरदेश पुग्छ तन भने परदेशमै संघर्षरत हुन्छ । सायद मनको पनि पखेटा काट्न मिल्दो हो भने मनको ब्यथा आँखा का परेलामा आउने थिएनन् होला । 

    प्रदेशीहरुको दैनिकी लगभग उस्तै जस्तो हुन्छ भारी बोक्न पालिएको गधाको जस्तो । घाटीमा काम र जिम्मेवारको घण्टी झुन्डाएर घाम झुल्के देखि घाम नअस्ताउद सम्म बर्खामासाको जोत्ने गोरुले जस्तो दाहीरहनुपर्ने । भारी बोक्नकै लागि पालेको गधाको जस्तो जिन्दगी । बढ्दो बेरोजगारी, महँगी र जिम्मेवारीले थाप्लोमा थिचेपछी खुसी किन्नै को लागि खुसी धितो राख्नुपर्ने गरिब देशमा जन्मलिनु पनि दुष्कर्म रहेछ । यस्तो जिन्दगी जिउने रहर कसैलाई हुदैन सबै परदेशीहरु को आआफ्नो बाध्यता र परिस्थिति छन् । घर परिवारको सुखको लागी एक मुठी खुसी किन्न आफ्ना इच्छा आकांक्षाहरुको हत्या गर्दै कहिल्यै नआउने भोलिको लागि सुन्दर सपनाहरूको माला उनेर कल्पनामा रमाउनु पर्ने । रहर मनमा कति हुन्छन् कति तर ती मनका रहर मनैमा राख्ने रहर कुन प्रदेशीहरुलाई हुन्छ र ?

    जसरी एकाबिहानै चारो खोज्न निक्लेको चरी साझ परेपछि गुडमा फर्किन्छ त्यसैगरी प्रदेशीहरु पनि उज्ज्वल भविस्यका सपनाको मालाहरु उनेर चरीले चारो खोजे झैँ प्रदेशीहरु उज्जवल  भविस्य चारोको जोहो गर्दै हुन्छ प्रदेशमा  । भोलिको उज्ज्वल दिन किन्नको लागि आजको दिनमा पसिनाको व्यापार गर्दै गर्दा घर गाउमा दसैं र तिहार आउँदा मनमा अतितमा भएको दसैंले भने केही हर्षका सिरेटोले छुने रैछ । कता कता मन खुसी हुन्छ अनि मनकी चरी उढेर घरको त्यो आगनीमा पुग्छ, अनि अतितका दिन सम्झिदै कल्पना मै दसैं मनाएको पत्तै हुदैन । र अर्को पटकको दसैंमा घर जाने सपनाको माला उन्दै दसैं सकिन्छ । 

    तपाईहरु सम्पुर्णको दशै दशै जस्तै होस् । सुख, शान्ती, समृद्धिको कामना सहित विजया दशमी तथा शुभ विपावली २०७७ को हार्दिक मंगलमय शुभकामना छ । 
    सात समुन्द्र पारिको देशबाट एक प्रदेशी ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology