नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी नेपाल सरकार र ओमान सरकारबीच सम्झौता भएको छ।
ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम बीच उक्त सम्झौतामा हस्ताक्षर भएको ओमन स्थित दुतावासले जनाएको छ । उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि नब्बे (९०) दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्।
सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन।

यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने र त्यसैगरी पछिल्लो समयमा ओमान अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने कुरामा दुवै पक्ष विश्वत रहेको बताए ।
हस्ताक्षर कार्यक्रमपश्चात आ-आफ्नो धारणा साटासाट गर्दै महामहिमहरूले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोडदिएका छन।
कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाटगर्दै द्विपक्षीय लगानी प्रबर्द्बन, पर्यटन प्रबर्द्बन एवम् आपसी हितका विषयहरूमा पनी छल फल भएको ओमन स्थित दुतावासले जनाएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।