Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सस्तो दरमा उडान गर्न थालेपछि दैनिक २ सयभन्दा बढी आकाशमा उड्न थाले

सस्तो दरमा उडान गर्न थालेपछि दैनिक २ सयभन्दा बढी आकाशमा उड्न थाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १०:०६:१६ बजे
  • 1.9K
    SHARES
  • सस्तो दरमा उडान गर्न थालेपछि दैनिक २ सयभन्दा बढी आकाशमा उड्न थाले
    पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक २ सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

    कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान सुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

    उनले भने, ‘हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौं, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ हौं । अहिले दैनिक पोखरा र आसपासका करीब २ सय आन्तरिक पर्यटकले उडान गर्नुभएको छ ।’ उनले अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको बताए ।

    आन्तरिक पर्यटकको चहलपहलले थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत दरमा ३ हजारमा उडान गरिएको छ । पहिले ७ हजार ५ सयमा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए ।

    हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए । विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ ।

    नेपाल हवाई खेलकूद संस्थाको सचिव तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखरा आसपासका जिल्लाबाट आउने गरेका छन् । यसअघि दैनिक करीब ५ सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करीब २ सयले उडान गर्ने गरेको उनको भनाइ छ ।

    पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३ सय ३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०÷१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करीब १ अर्बको लगानी छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology