एजेन्सी । सूर्यबाट निस्कने पराबैजनी विकिरणबाट बच्न जो कोहीका लागि पनि सम्भव हुँदैन । यसबाट मानव शरीरको छालामा क्यान्सरलगायतका अन्य थुप्रै घातक रोगहरु लाग्छ । तर हालै गरिएकोे एक अध्ययनबाट पृथ्वीकै सबैभन्दा कठोर र बलवान मानिने जीव वाटर बियरलाई सूर्यको अल्ट्राभायोलेट किरणबाट कुनै नोक्सान नपुग्ने खुलासा भएको छ ।
पानीमा बस्ने र झट्ट हेर्दा निकै अचम्मको देखिने यो जीवलाई टार्डिग्रेड्स र मास पिग्लेट्स पनि भनिन्छ । तपाँई हामी जो कोही पनि ३५ देखि ४० डिग्री सेल्सियसको तामक्रममै अत्तालिन थाल्छौं । तर यो जीवले १५० डिग्री सेल्सियससम्मको तापक्रम सजिलै सहन सक्छ । यति मात्रै हैन, यो जीव अन्तरिक्षको कठोर चिसो तापक्रममा पनि बाँच्न सक्छ ।
भारतीय अनुशन्धानकर्ताहरुले गरेको एक अध्ययन अनुसार टार्डिग्रेड्सको शरीर भित्र एक नयाँ जीन फेला परेको छ । जसलाई प्यारामाइक्रोबियोट्स भनिन्छ ।
प्यारामाइक्रोबियोट्स एक सुरक्षात्मक फ्लोरोसेन्ट ढाल हो । यसले सूर्यको अल्ट्राभायोलेट विकिरणलाई अवरुद्ध पार्छ ।
टार्डिग्रेड्सको शरीरमा रहेको प्यारामाइक्रोबियोट्स जीनले सूर्यको पराबैजनी विकिरणलाई अवशोषित गरी हानिरहित निलो रंगको प्रकाश बाहिर फ्याँक्छ ।
सूर्यबाट निस्कने पराबैजनी विकिरणमा सामान्य जीव १५ मिनेटभन्दा बढी बाँच्न सक्दैन । तर टार्डिग्रेड्सले सूर्यको पराबैजनी विकिरणलाई सजिलै पचाउन सक्छ ।
ईण्डियन ईन्स्टिचयुट अफ साइन्सका वैज्ञानिक तथा बायोकेमिस्ट हरिकुमार सुमाद्वारा लिखित अध्ययन रिपोर्टमा यो विषयको खुलासा भएको हो ।
अनुशन्धानकर्ताहरुका अनुसार वाटर बियर अर्थात टार्डिग्रेड्सको शरीरमा रहेको प्यारामाइक्रोबियोट्स जीनलाई अन्य जीवमा पनि प्रत्यारोपण गर्न सकिन्छ ।
यसबाट अन्य जीवहरुलाई पनि घातक विकिरणहरुबाट बचाउन सकिन्छ । यद्यपी केही वैज्ञानिकहरुले यो अध्ययनलाई अधुरो मानेका छन ।
यस बारे अझै बृहत अध्ययन गर्न जरुरी रहेको उनीहरुको मत रहेको डेलिमेलले जनाएको छ ।