कार्तिक ११, २०७७ मंगलवार
•
०८:५३:०४ बजे
हास्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण भएको छ । बिहीबारपछि लगातार सामान्य टाउको दुखेपछि आइतबार पीसीआर परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको गजुरेलले जानकारी दिए ।
उनलाई शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखिएको थियो भने शनिबार ढाड दुखाई महसुस भएको थियो । बिहीबारदेखि सामान्य टाउको दुखेकाले गजुरेल सोही दिनबाट आइसोलेसनमा छन् । उनले सेल्फ आइसोलेसनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।
‘बिहीबारदेखि नै आइसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै लक्षण छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा नियम पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’
गजुरेलले संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन् । गजुरेल भने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझावमा कोरोनाको उपचार गराइरहेका छन् ।
‘आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजेटिभ’ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ’, गजुरेलले भनेका छन्, ‘म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. समीरमणि दीक्षितको सुझाव, सल्लाह र 'कोभिड उपचार गाईडलाईन'मा छु ।’
गजुरेलले कोरोना भाइरस भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएकाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’