Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस

पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • १४:००:३३ बजे
  • 1.7K
    SHARES
  • पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस

    म्याग्दी । पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति भएका घर पुनर्निर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिराले भत्किएर पूर्ण क्षति भएका २ सय ४७ घर पुनर्निर्माण र जोखिमयुक्त ८ सय २१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । पालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै टोलीले गरेको स्थलगत अध्ययनपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले एकमुष्ट प्रतिवेदन तयार पारेको हो । “पूर्ण क्षति भएका, जोखिमयुक्त र स्थानान्तरण गर्न प्रस्तावित ठाउँको भौगर्भिक टोलीबाट अध्ययनका लागि सिफारिस गरेका हौँ”, प्रजिअ अधिकारीले भने, “भूगर्भविद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरेपछि पुनःस्थापनाको बाटो खुल्छ ।”

    धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २ सय ९ घर, मालिकाको २२ वटा बस्तीका ३ सय ७५ घर र अन्नपूर्णका आठवटा बस्तीका १ सय ३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ । यस्तै मङ्गलाका नौ बस्तीका १ सय, रघुगङ्गाको १५ बस्तीका १ सय ६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनर्निर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।

    असार महिनायता म्याग्दीमा पहिराका कारण ३१ को मृत्यु र छ जना बेपत्ता भएका छन् । पहिरो, कटान र बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको समेत क्षति विवरण सङ्कलन गरेर पुनर्निर्माणका लागि प्रदेश तथा संघ सरकारका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिएको हो । बेनी नगरपालिकाबाहेक पाँचवटा स्थानीय तहका १ सय ६ वटा सडक पहिराले क्षति पुगेको छ । नगरपालिकाले पहिराले क्षतिग्रस्त सडकको विवरण उपलब्ध नगराएकाले प्रतिवेदनमा समावेश नभएको हो ।

    पहिराबाट ८४ वटा खानेपानी, ४६ वटा सिँचाइ, ३१ वटा कृषि तथा पशुपक्षी फार्म, ३१ वटा विद्यालय, १७ वटा लघुजलविद्युत्, आठवटा सामुदायिक भवन, सातवटा स्वास्थ्य संस्थामा क्षति पुगेको विवरण तयार भएको छ । पहिरोलगत्तै उद्धार, राहत, अस्थायी बसोबास, क्षतिग्रस्त विद्युत्, खानेपानी, सडक मर्मत गरेका स्थानीय तहहरुले पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोतको अभाव भएको जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology