Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाबुले गराइदिए छोराको चौरासी पूजा

बाबुले गराइदिए छोराको चौरासी पूजा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • १८:०८:०० बजे
  • 1.5K
    SHARES
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
    बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका छन् ।  

    सुनवल नगरपालिका– १२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराएका हुन् । 
     
    बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद  लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।

    १०८ वर्षीय  केशवराज ज्ञवाली अहिले पनि स्वस्थ छन् । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए । 

     केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम  छन् । 

    छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । आफूले यस्तो दृश्य पहिले नदेखेको, तर आफ्ना बुबाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले सुनाए । 
     
    वि.सं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ । उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology