पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात्रै होइन, मारिने पनि गरेका छन् । पछिल्लोपटक डोटीमा एक दलित युवा गैर दलित युवतीसँग प्रेम सम्बन्ध रहेको आशंकामा निर्घातरुपमा कुटिएका छन् ।
डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नं. ३ जदीका दिनेश नेपाली मरणासन्न हुनेगरी कुटिएका छन् । यतिसम्मकी ‘जो होचो, उसैको मुखमा घोचो’ झै उल्टै जवरजस्ती करणको मुद्दामा जेलसम्म हालिएको छ ।
स्थानीय पुष्पा पुन मगरसँग प्रेम सम्बन्ध रहेको आशंकामा नेपालीलाई असोज २५ गते गाउँलेले दिनभर कुटपिट गरेका थिए । गाउलेको कुटाईबाट गम्भीर घाइते भएका नेपालीको कैलालीस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेका बेला प्रहरीले उनलाई असोज २९ गते नै पक्राउ गरी हिरासतमा राखेको छ ।
१७ वर्षीय नेपालीले मगरसँग प्रेम गरेको आरोपमा गाउलेले असोज २५ गते नेपालीकै घरमा गएर कुटपिट गरेका थिए । उनलाई त्यसको भोलीपल्ट अर्थात् असोज २६ गतै उपचारका लागि डोकोमा बोकाएर अस्पताल लगिएको थियो ।
उनको अस्पतालमा उपचार भइरहेका बेला प्रहरीले जवरजस्ती करणीको मुद्दा दर्ता भएको भन्दै अस्पतालबाटै डोटी लगेको थियो । तर, हिरासतमा रहेकै बेला उनलाई कोरोना संक्रमण भएको भन्दै प्रहरीले फेरि अस्पतालको जिम्मा लगाएको छ ।
गाउलेको कुटाईबाटै गम्भीर घाइते भएका नेपालीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । उनी शुक्रबारदेखि बोल्नसमेत नसक्ने भएका छन् ।
प्रहरी भन्छ, केही बोल्न मिल्दैन
नेपालीकाे प्रादेशिक अस्पतालमा उपचार भइरहेका बेला जिल्ला प्रहरी कार्यालयमा ल्याएर हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला जिल्ला अस्पतालबाट असोज १ गते कोरोना परिक्षणका लागि स्वाब दिइएकोमा ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई कोरोना संक्रमण पष्टि भए लगत्तै प्रहरीले नेपालीलाई अस्पतालको जिम्मा लगाएको थियो । उपचार भइरहेका बेला प्रहरीले हिरासतमा ल्याउँदा कोरोना संक्रमण भएको आफन्तको भनाई छ ।
उनलाई कसरी हिरासतमा ल्याइयो भन्ने विषयमा प्रहरी केही बताउँन चाहँदैन ।
जिल्ला प्रहरी कार्यालयमा डिएसपी इन्द्र मल्लसँग सम्पर्क गर्दा घटनाबारे केही बताउन नमिल्ने भन्दै पन्छिएका थिए ।उनले जबरजस्ती करणको मुद्दा परेपछि पक्राउ गरिएको तर उनीमाथि कुटपिट भएको विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे । यतिसम्मकी आफुले जागिर खाएको समयदेखि नै दलितलाई सहयोग गर्दै आएको भनेर कुरा मोड्न खोजे ।
‘म त दलित शब्द नै मन पराउँदिन । मान्दिन पनि’ उनले भने, ‘हेर यार मलाई यो विषयमा धेरै बोल्नु छैन । अनुसन्धानपछि केही भनौला नि । अहिले नै किन सबै भन्नु र ? यो विषयमा बोल्न जरुरी छैन ।’
तर, प्रहरीले शुक्रबार नै दिनेशका आफन्तलाई ‘दिनेशलाई कोरोना लागेको छ, विरामी छ । बमिट गरिरहेको छ । उपचार गर्न पैसा ल्याएर आउनु’ भनी खबर गरेको थियो ।
नेपालीका परिवारले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा दिनेश नेपालीलाई असोज २५ गते घरमा आई कुटपिट गरिएको भन्दै उजुरी दिन खोज्दा दर्ता गर्न मानेको छैन । दिनेशका आफन्तले उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अन्यायमा परेको भन्दै न्यायको अपिलसमेत गरेका छन् ।
गाउलेले १६ वर्षीय पुष्पा पुन मगर र १७ वर्षीय दिनेश नेपालीबीच प्रेम सम्बन्ध रहेको आशंका गरेका थिए । आशंका गरेकै अवस्थामा पुष्पाले आफ्नो कापीमा डि प्लस पि (D+P) लेखेको भेट्टाएपछि दिनेशमाथि जाइलागेका थिए ।
स्थानीय मगर समुदायका मानिसहरुले असोज २५ गते बिहान करिव ७ बजेको समयमा अन्तरजातीय प्रेम सम्बन्धको आशंकामा दिनेश नेपालीको घरमा पसेर काम गरिरहेको अवस्थामा कुटपिट गरेका थिए । उनीहरुले घरसमेत तोडफोड गरेका थिए ।
गाउलेको समुहले दिनेशको हातमा रहेको मोबाइल खोसेर हातखुट्टा बाँधेर ‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटपिट गरेका थिए ।
उनीहरुले बिहान ७ बजेदेखि साँझ ३ बजेसम्म पनि कुटपिट गरेका थिए ।दिनेश नेपालीका बुवा, आमाले ‘किन पिटेको भनेर सोध्दा पनि ‘डुम डुमेनी भएर हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटपिट गरिरहेका थिए ।
दिनेशकी बहिनी रुपा नेपालीले पानी दिन खोज्दासमेत मोबाइल खोसेर पानी दिनेलाई पनि मार्दिन्छौ’ भन्दै कुटपिट गरेका थिए ।
उनीहरुको कुटपिटपछि बेहोस भएका दिनेशलाई प्रहरीकै रोहवरमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार भइरहेकै अवस्थामा दिनेशलाई असोज २९ गते डोटी प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको थियो ।
Source :kantipath