कोरोना संक्रमण बढेसँगै अस्पतालमा उपचार गर्न आउने संक्रमितहरुको संख्या पनि बढ्न थालेको छ । अस्पतालमा आउने कोरोना संक्रमतिहरु धेरै भएपछि अहिले बेडहरु भरिएको अस्पतालहरुले जनाएका छन् ।
उपचार गर्न आउने संक्रमित गम्भीर प्रकृतिको रहेका वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । संक्रमितहरु थपिएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या पनि बढिरहेको छ ।
अस्पतालमा आउने बिरामीमध्ये धेरै जसोलाई अक्सिजनको आवश्यकता हुने उनले बताए । पहिले अक्सिजन आवश्यक सीमित बिरामी मात्र आएपनि पछिल्लो समय अक्सिजनको आवश्यकता पर्ने बिरामीको संख्या बढेको उनले बताए ।
अस्पतालहरुले अक्सिजन बेड निर्माणको तयारी गरिरहेका छन् । सरकारले अक्सिजन बेड निर्माण गर्नको लागि बजेट पनि पठाइसकेको छ । वीर अस्पतालले पनि अक्सिजन बेड निर्माण तयारी गरिरहेको उनले बताए ।
डा. सेन्चुरीकाअनुसार अक्सिजन बेड निर्माणको लागि आवश्यक सामग्रीहरु ल्याउने क्रममा अस्पताल रहेको छ । अस्पतालमा अहिले अक्सिजन आवश्यक पर्ने बिरामीको चाप बढिरहेको भएपनि सीमित अक्सिजन प्लान्ट भएको कारण धान्न गाह्रो भएको उनले बताए ।