कार्तिक २०, २०७७ बिहिवार
•
२०:५३:३५ बजे
शम्भु रसाली
आश्विन शुक्ल प्रतिपदादेखि पुर्णिामासम्मको १५ दिनको अबधिलाई बिजया दशमी, बडा दशै, दशै, दशहरा आदि नामले चिनिन्छ वा भनिन्छ । यो नेपाली हिन्दुहरुको महान चाड हो । नेपालमा यसलाई राष्ट्रिय पर्बको रुपमा मनाउने गरिन्छ । जुन जुन ठाउँ र देशमा हिन्दु धर्म मान्ने नेपाली छन, त्यहाँ दशै धुमधामले मनाउने गरिन्छ । दशैमा मान्यजनहरुबाट टिका लगाई आशीर्वाद लिने चलन छ । दशैमा नयाँ लुगा लागाई, मिठो मिठो परिकार खाएर रमाइलो गरिन्छ । दशैमा परिवार लगाएत आफन्त भेट्न र आशीर्वाद लिन सात समुन्द्र पारीबाट समेत आउने चलन छ ।
दशैलाई मेलमिलाप गर्ने दिनकोरुपमा समेत लिने गरिन्छ । दशैले आन्तरिक पर्यटनमा समेत महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । ब्यवसायिक दृष्टिकोणबाट समेत दशैको महत्व धेरै देखिन्छ । दशै त्यसमा पनि बडा दशै । यो दिनलाई सत्यले असत्यमाथि बिजय हासिल गरेको दिन भन्ने गरिन्छ तर सत्यको बिजय हो वा होइन भन्ने कुराको चर्चा तल गरिने छ । सत्य यूगमा देबी दुर्गाले महिसासुरको नास गरेको दिन, रामले रावणलाई मारेको दिन भनेर दशैलाई चिनिन्छ । तर यि कुनै पनि कुराको ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन । यो तथ्यमा होइन कथ्यमा आधारित कुरा मात्र हो । अर्को कुरा, हिन्दुहरुको महान चाडको रुपमा दशैलाई लिने गरिन्छ तर हिन्दुहरुको महान चाड नै दशै हो भने हिन्दुहरुको उदगम स्थल भारतमा यसको महत्व जति नेपालमा छ त्यति छैन किन ? त्यहा त नेपालमा भन्दा अझ तामझामले दशै मनाउनु पर्ने होइन र ?
हामी सबैले बुझ्नु पर्ने कुरा, यो चाड कसको हो ? यो किन मनाइन्छ ? दशै कहिलेबाट सुरु भयो ? आदि यकिनका साथ भन्न सक्ने अबस्था छैन । तर नेपालमा एसको इतिहास हेर्ने हो भने गोर्खाका राजा द्रव्य शाहाको पालादेखि शुरु भएको देखिन्छ । द्रब्य शाहले लिग लिग कोट नामक राज्यका मगर राजालाई चलाखिपुर्ण तरिकाले जितिसके पछि, त्यहाको राजा बनेका थिए । द्रब्य शाहले बि स: १६१६ आश्विन २३ गतेका दिन चार पाँच जना ब्राह्मणहरुको सल्लाह र सहयोगमा गोर्खाका खड्का राजालाई १५ दिनसम्म निरन्तर आक्रमण गरि हत्या गरेका थिए । त्यस पश्चात गोर्खा राज्य आफ्नो हातमा लिई, बिजय भएको उपलक्ष्यमा द्रब्य शाहले भोज गरेर खुसियाली मनाएका थिए रे !
प्रत्येक बर्षको सोहि समयमा भोज गरेर खुसियाली मनाउने चलनले निरंतरता पाउदै आएको र पछि त्यहि सस्कृति दशैको रुप बिकसित भएको हुन सक्छ भन्ने भनाई छ । जब द्रब्य शाहको सन्तान पृथ्वीनारायण शाह गोर्खाका राजा भए । उनले आफ्ना सबै जनतालाई दशै पर्ब मान्न बाध्य पार्ने कानुन बनाएका थिए रे ! जसले यो चाड मान्दैन उसलाई दण्डको ब्यबस्था समेत गरेका थिए रे ! नेपाल एकीकरण गर्ने क्रममा काठमाडौका राजालाई पराजित गरी काठमाडौ राजा भईसकेपछि उनले दशै मनाउने चलन काठमाडौमा पनि सुरु गरेका थिए । त्यो भन्दा अगाडि काठमाडौमा दशै मान्ने चलन थिएन ।
यि सबै कुराबाट पुष्टि हुन्छ कि दशै द्रब्य शाहको पालादेखी नेपालमा शुरु भएको हो । यो दिन दुर्गा देबिले महिशासुरलाई हराएको दिन पनि होइन । न त रामले रावणलाई नै जितेको दिन हो । यो दिन त तत्कालीन शाह शासकले जनजाति र दलितका राजालाई हराएको दिन हो । जनजाति र दलित राज्यहरुको बिनाश भएको दिन हो । जनजाति र दलितबाट शासन सत्ता खोसिएको दिन हो । यो दिन शासकहरुको लागि बिजय उत्सबका रुपमा मनाउने दिन होला तर जनजाती र दलितले लहैलहैमा लागेर आफ्नै पुर्खा नासिएको दिन, आफ्नै पुर्खा मासिएको दिन खुसियाली मनाउनु के राम्रो कुरा हो ? गहिरिएर बुझ्नु नितान्त आबश्यक छ ।
मेरो बुझाईमा यो दिन सत्यले असत्यमाथि बिजय हासिल गरेको दिन होइन बरु असत्यले सत्यमाथि कपटपूर्ण तरिकाले बिजय हासिल गरेको दिन हो । प्रमाण सबुत छ । द्रब्य शाहले कसरी लिग लिग कोटको राजालाई हराए । द्रब्य शाहले कसरी निर्ममता पुर्बक गोर्खाका खड्का राजाको हत्या गरि खुसियाली मनाए । शाह राजाहरुको लागि दशै भनेको शुभ दिन थियो जुन दिनको साईतमा धेरै राज्य र राजाहरुको अन्त्य गरिएको थियो । यसैबाट भन्न सकिन्छ कि दशै हत्याहिंसाको दिन हो ।
महिसासुर र रावणमाथि बिजय प्राप्त गरेको जुन कुरा छ त्यो आफ्नो राज्य र सस्कार बचाउनको लागि शासक बर्गले रचेको राम्रो कथा हो । त्यहि कथालाई सत्य मानेर नेपालीहरु धुमधामले दशै मनाउदै आइरहेका छन । यि कुरालाई पुष्टि गर्ने अर्को उदाहरण भारत हो, जुन ठाउँबाट हिन्दु धर्म सुरुवात भयो त्यहाका जनताले किन नेपालिले जस्तै यो पर्ब मनाउदैनन ? यो हामि सबै नेपालीको लागि सोचनिय बिषय हो । अर्को कुरा जहा जहा नेपाली छन त्यही त्यहि मात्र किन दशै मनाइन्छ ?
दशै कसको लागि राम्रो र कसको लागि नराम्रो । दशै कसले मान्ने र कसले नमान्ने ? दशै किन मान्ने र किन नमान्ने बुझ्नु राज्य आबश्यक छ । माथि नै उल्लेख भैइसकेको छ कि दशै राज्य एकीकरणको नाममा आक्रमण र हत्याहिंसाको लागि साईत जुराउने दिन रहेछ । दशै खुसियाली मनाउने दिन भएको हुँदा विभिन्न जातिका जनावरको बलि दिईने, काटमार गरिने पर्बको रुपमा समेत प्रख्यात छ । जसरि मानिसमा समबेदना हुन्छ त्यस्तै गरि जनावरहरुमा पनि समबेदना हुन्छ । समबेदनाको कुनै मतलब नगरी दशैको बेला योजनाबद्ध तरिकाले लाखौको संख्यामा जनावरहरु काटिने चलन छ । जब दशै सकिन्छ तब अर्को दशैको काटमारको लागि बिभिन्न जातिका जनावर पाल्ने योजना बनिसकेको हुन्छ । यो कार्यले दशै मान्नेहरुमा हत्याहिंसाको सोच बिकसित गरिदिएको हुन सक्छ । त्यसकारण पनि यो भन्न सकिन्छ कि दशै हत्याहिंसाको प्रतिक हो । पर्ब मान्ने निहुँमा हत्याहिंसा रोकिन्छ भने दशै राम्रै होला नभए यस्तो चाड मान्नुको कुनै औचित्य हुँदैन ।
दशैलाई महान चाडको नाम दिइएको छ । जुन १५ दिनसम्म धुमधामले मनाउने गरिन्छ । दशैमा बिभिन्न जन्तुको मासु खानै पर्ने, नंया नयाँ लुगा फेर्नै पर्ने । नातेदारहरुलाई खुवाउनै पर्ने, नातेदारकोमा जानै पर्ने भएकोले यो धेरै खर्चिलो छ । अर्को कुरा दशै मात्र यस्तो चाड हो जुन चाडमा कसैले कसैलाई निम्ता पनि गर्नु पर्दैन । आए हुन्छ गए हुन्छ । यस्तो पर्ब जो बिजय भए, जसले शासन सत्ताको ढुकुटीबाट भत्ता लिए वा पाए, उनिहरुको लागि राम्रै होला तर आम जनताको लागि धेरै खर्चिलो भएको कारण यो दशै होइन दशाको प्रतिको हो । ऋणको भार हो । के यस्तो चलन नेपाल जस्तो गरीब देशका जनताको लागि ठिक हो ? यि सबै कुरालाई हेर्दा यो भन्न सकिन्छ कि धेरै चाड पर्बहरु मध्य समग्र नेपालिलाई गरिब बनाउने चाड बडा दशै हो । जबसम्म यस्तो सस्कारको अन्त्य हुँदैन तबसम्म दशै मान्नुको कुनै अर्थ हुँदैन ।
एउटा गजबको उदाहरण, सरकारी कर्मचारी भनेका राज्य ब्यबस्थापनका महत्त्वपूर्ण पदाधिकारी हुन । शासकहरुले आफ्नो बिजय भएको दिनलाई अमर बनाउन, टिकाउन र यो चलनको बिस्तार गर्न आफ्ना कर्मचारीलाई दशै खर्च दिने चलन बनाएका हुन सक्छन । बिदा पनि दिएका हुन सक्छन । जसको कारण उनिहरुको खर्चमा कुनै कमि र दुबिधा नहोस । ति कर्मचारीहरुले त्यहि गरे जो शासकले चाहेका थिए । बिस्तारै बिस्तारै त्यो कुराको अनुकरण जनताले पनि गर्दै गए । पछि गएर सस्कार बन्यो, सस्कृति बन्यो, दशै भयो । राज्यको ढुकुटीबाट भत्ता पाउने र समाजका हुनेखानेहरुको सिको गर्दै हुनेले आफ्नै खल्तीबाट खर्च गरेर दशै मनाउन शुरु गरे भने नहुनेले अर्काको खल्तीबाट ऋण लिएर दशै मनाउन सुरु गरे । जुन अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । होस वा नहोस दशै मान्नै पर्ने चलन नेपाली समाजमा छ । हिन्दु राज्य भएको स्थितिमा दशै भत्ता दिनु राम्रै थियो होला तर अहिले देश धर्म निर्पेक्ष भएको अबस्थामा पनि कुनै एक धर्म बिशेषको पर्बमा दशै खर्च दिनु के राम्रो कुरा हो ?
अर्को कुरा दशैले धनि र गरिब बिच असमानताको खाडल निर्माण गर्ने काम गरेको हुन्छ ।
दशैको निहुँमा आम जनताको पैसा बिभिन्न खर्च बापत पुजिपतिहरुको हातमा गैरहेको हुन्छ । जसको कारण धनि झन झन धनि बन्ने र गरिब झनै गरिब हुने अबस्थाको सृजना भैइरहेको हुन्छ । यतिसम्म कि गाउँ घर साहु माहाजनहरुले दशै मान्ने पैसा ऋण बापत दिएर वर्ष भरि काम कजाउने चलन अहिलेसम्म देख्न र भेट्न सकिन्छ । पैसा होस या नहोस दशै मान्नै पर्ने, ऋण काढ्नै पर्ने सस्कार गरिबलाई झन गरिब बनाउने काम गरेको छ । यिनै कारण सिमित ब्यक्तिलाई यो चाड दशै हो भने धेरैलाई अझ गरिब बनाउने दशा हो ।
अर्को उदाहरण, दशैको अबधिलाई हेर्ने हो भने कथित दलित र जनजातिहरुले खस्टिको दिन भैसि काट्ने, फुलपातिको दिन रागा काट्ने अस्टमिको दिन सुगुर काट्ने चलन छ र सोहि दिनबाट जाड, रक्सि र मासुमा झुम्ने चलन छ । जाडरक्सि खाएर एक आपसमा झगडा गर्ने, कुटपिट गर्ने गरेको पनि त्यो बर्गमा देख्न सकिन्छ । स्वास्थ्यको लागि जाडरक्सि हानिकारक छ, त्यसमा झैझगडा कुटपिट आफैमा राम्रो कुरा होईन । केहि सिमित बर्गको लागि दशै राम्रै होला किनकि उनिहरु त्यो अबधिमा दुर्गा देबिको ब्रतबसेर शुद्ध भजन गरेका हुन्छन भने समग्र नेपाली जनताको लागि जाड, रक्सि र मासुको प्रतिक दशै हो ।
अत्याधिक मासु र जाड रक्सि स्वास्थ्यको लागि हानिकारक छ । जुन सत्य पनि हो र यसको बैज्ञानिक कारण पनि छ । १५ दिनलाई दशैको रुममा मनाईने र बाकि रहल पहल जोड्दा यसको अबधि एक महिना सम्मै पुग्ने गर्दछ । एक महिनासम्म जाड रक्सि र मासुमा झुम्ने जातिहरु स्वस्थ भए पनि अस्वस्थ हुन सुरु गर्छन, रोगि भए महारोगि हुन्छन र महारोगि राम नाम सत्य हुन्छन । यसैबाट बुझ्न सकिन्छ कि समग्र जनतालाई रोग र शोकमा अल्मल्याउने पर्ब दशै हो ।
माथिका कुराबाट यो भन्न सकिन्छ कि दशै नेपालीहरुलाई वर्षमा एक जोर कपडा फेर्न सिकाउने चाड हो । एक जोर कपडा फेर्न वर्ष दिन कुर्नु पर्ने स्थितिले नेपालीहरुको आर्थिक अबस्था र गरिबी कतिसम्म छ, भन्ने देखाउछ । दशै भनेको नेपालीहरुले जाड, रक्सी र मासु सम्झेर बस्ने दिन हो, यसैबाट प्रष्ट हुन्छ कि नेपालीहरुको गरिबिको अबस्था कतिसम्म दयनीय छ भनेर । दशै भनेको बिभिन्न निहुमा नेपालीहरुको पुजि पुजीपतिहरुको ढुकुटीमा खिच्ने पर्ब हो । दशै भनेको जनजाति र दलितहरुलाई जाड रक्सि र मासुमा अल्मलाएर ऋणको भार बोकाउने पर्ब हो । दशै भनेको गरिब जनतालाई झनै गरिब बनाउने पर्ब हो । मासु खान दशै कुर्नु पर्ने, कपडा फेर्न दशै कुर्नु पर्ने, घर आगन सफा गर्न दशै कुर्नु पर्ने अबस्थाको अन्त्य भएमा मात्र नेपाली सम्पन्न हुने छन । नभए हात्ती आयो हात्ती फुस्सा भने जस्तै नेपालिहरुलाई एक जोर नयाँ कपडा फेर्न र एक छाक मिठोमसिनो खान समेत दशै नै कुर्नु पर्ने स्थिति बन्ने छ ।