Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउनयता निकुञ्जमा १२ गैँडाको मृत्यु

साउनयता निकुञ्जमा १२ गैँडाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • १६:३६:३८ बजे
  • 1.2K
    SHARES
  • साउनयता निकुञ्जमा १२ गैँडाको मृत्यु

    चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

    images

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेको छ ।

    दुवैको खाग तस्करले लगेको बरालले बताए । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेको भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुन सक्ने बताए । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ ।

    निकुञ्जमा शिकारीले चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

    निकुञ्जमा शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिए । बरालले भने, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए । एकाएक शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

    प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

    सन् २०१५ को गणनानुसार नेपालमा ६ सय ४५ गैँडा छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८÷५९ मा मरेका हुन् । सो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology