Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवाको आकर्षण होटल व्यवसायमा

युवाको आकर्षण होटल व्यवसायमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • १६:५४:१९ बजे
  • 1.4K
    SHARES
  • युवाको आकर्षण होटल व्यवसायमा

    जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गरेका ढकाल अहिले भने गाउँ फर्केर होटल व्यवसायमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लागेका छन् ।

    images

    उनले टीकापुरमा क्याफे सञ्चालन गरेका छन् । “विदेशमा बसेर काम गर्दा राम्रै कमाइ भएपनि सन्तुष्ट हुन सकिँदो रहेनछ”, उनले भने, “स्वदेशमै केही गरौं भन्ने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरेको हुँ ।” पारिवारिक वातावरणसहितको उक्त क्याफेको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले यसको शाखा बिस्तार गरी व्यवसायलाई फराकिलो बनाउने योजनामा रहेको जानकारी दिए ।

    रु २० लाखको लगानीमा सुरु गरिएको यो व्यवसायमा अहिले छ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको उनको भनाइ छ । “पहिलेदेखि नै होटलमा काम गरेको हुँदा होटलतिरै मेरो लगाव रह्यो”, ढकालले भने, “त्यसलाई अझै फराकिलो बनाइ आफ्नै देशमा केही गर्ने योजनाका साथ नेपाल फर्किएको हुँ ।”

    त्यस्तै, लामो समयदेखि फेन्सी व्यवसाय गर्दै आएका २५ वर्षीय जीवन बिष्ट पनि होटल व्यवसायमै आकर्षित भएका छन् । उनले करिब रु २५ लाखको लगानीमा केओडी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । होटल व्यवसायमा खासै ज्ञान नभएको बताउँदै बिष्टले सिक्दै जाँदा होटल व्यवसायमा आफ्नो आकर्षण बढेको बताए । यो व्यवसायबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

    “पहिलो कुरा सन्तुष्टि हो । म फेन्सी पसलबाट पनि सन्तुष्ट थिएँ । होटलबाट पनि सन्तुष्ट छुँ”, बिष्टले भने, “अहिलेको आधुनिक युगमा मानिसहरुका विभिन्न आकांक्षा हुन्छन् । त्यहीअनुसार व्यवसायलाई पनि लग्ने हो भने सफल हुनेमा कुनै दुई मत छैन ।” उनले होटलभित्र विभिन्न डिजाइनका चित्रहरु बनाएका छन् भने आउने ग्राहकको फोटोका लागि एकजना फोटोग्राफर कर्मचारी समेत राखेका छन् । दिनभरि आएको ग्राहकको फोटोहरु बिष्टले आफ्नो होटलको फेसबुक पेजमा राख्ने गर्छन् । जुन कारणले पनि केओडीप्रति ग्राहकको आकर्षण बढेको छ ।

    “फेसबुक पेजकै तस्बिर देखेर सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका ग्राहकहरु आउने गरेका छन्”, उनले भने, “होटल सबै एउटै हुन् । तर, हाम्रो योजनामात्रै फरक देखिएको हो । त्यही फरकपन देखेर बाहिरबाट पनि मानिसहरु सम्पर्क गर्ने गरेका छन् ।” उनले यो व्यवसायमा १२ जनाले प्रत्यक्ष रोजागारी पाएको बताए ।

    त्यस्तै टीकापुरकै जीवन शाहीले बीएचएम पास गरी टीकापुरमै मुमेरो जाभा कफी शप सुरु गरेका छन् । प्रयोगात्मक तालिमका लागि एक वर्ष दुबइ बसेका शाही आफ्नै क्षेत्रमा कफीको क्रेज बढाउन चाहन्छन् । दुई दाजुभाइ मिलेर रु १५ लाखको लगानीमा कफी शप सुरु गरेका शाहीले टीकापुरको विकासमा आफूहरुले पनि एक इँटा थप्ने उद्देश्यका साथ व्यवसाय सञ्चालन गरेको बताए । “कफी एउटा ब्राण्ड हो । ग्राहकको मागअनुसार अन्य परिकारको तयारीमा पनि छौं”, उनले भने, “यहाँ आएका ग्राहकलाई पहिलो स्वाद हाम्रो कफी नै रहनेछ ।”

    पच्चीस वर्षको उमेरमा व्यवासयमा लागेका शाहीले अन्य युवालाई पनि व्यवसायमा जोडिन आग्रह गरेका छन् । “टीकापुरमा हामीले फरक ब्राण्डको सुरुवात गरेका छौँ । अब त्यसमा प्रतिस्पर्धा गर्ने अर्को व्यवसाय जन्मनुपर्छ”, उनले भने, “व्यवसाय थपिनु भनेको पनि त्यस क्षेत्रको विकास हो भने उद्यम गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत पनि हो ।”

    पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण बाहिर बसेका युवा आफ्नै क्षेत्रमा केही उद्यम गर्ने उद्देश्यका साथ जागरुक हुँदै गएका छन् । भारत तथा तेस्रो मुलुकमा रोजागारीका लागि होस् वा अध्ययनको सिलसिलामा बाहिर गएका युवा होटल व्यवासयमा मात्र नभइ अन्य व्यवसायमा समेत जोडिँदै गएका छन् । व्यवसायिक युवाका लागि सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology