Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जातको मनोविज्ञान

जातको मनोविज्ञान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • १६:५७:५८ बजे
  • 11.9K
    SHARES
  • जातको मनोविज्ञान
    श्याम गहतराज
    कावासोती–२, नवलपरासी 
     म एकदिन कावासोती देखि बुटवल जादै थिए, एउटै सिटमा बसेको अन्दाजी ५५/५६ बर्षको एक जना पुरुषले मेरो नाम र पहाडघर सोधे, मैले श्याम गहतराज भने । फेरी उनले बाबु के थरी भनेर सोधे मैले मेरो थर गहतराज हो भने । उनी अल्मलिए र भने गहतराज भनेको के हो नी बाबु? फेरी मैले भने तपाईको पौडेल, बस्याल, घिमिरे, राना, थापा, रसाइली जस्तै मेरो गहतराज हो भने, तै पनि ति व्यक्तिको खुलदुली मेटिएन । उनको आसय मेरो जात के होला भन्ने जान्ने उद्देश्य नै थियो । मैले पुनः भने जातले म केटा मान्छे हु । विश्वमा भएका आर्यन, मंगोलियन र नेग्रो मध्ये म आर्यन हु । नेपाली समाजको समाज व्यवस्थामा मेरो जात विश्वकर्मा हो भने । ती व्यक्तिले भने नढाट्नुस न बाबु तपाई त वि.क. जस्तो हुनुहुन्न  । अनि मैले मोबाईल निकालेर रेकर्ड गर्न लागे र भने त तपाई भन्नुस कामी, दमाई जस्तो हुन कस्तो रुपरङ्गको हुनुपर्छ? कामी, दमाई, क्षेत्री बाहुन कस्ता हुन्छन्, ? बसमा हल्ला खल्ला भयो सबै यात्रुले मलाई हेरीरहे । 

    जात भनेको के हो? 
     हिन्दु वर्णाक्रमका आधारमा (हिन्दु, बौद्धिक शास्त्र धर्म) अनुसार हिन्दु र हिन्दुकरण भएको समाजमा सानो, ठूलो, तल्लो, उपल्लो, छुत, अछुत भनेर छुट्याईएको मानव समूहलाई जात भनिन्छ । हिन्दु वर्णाश्रम अनुसार चार वर्ण ब्रामण, क्षेत्री, वेश्य र सुद्र र त्यस भित्र विभिन्न जातहरु पर्दछन् । जस्तै कामी, दमाई, सार्की, बाहुन, क्षेत्री, ठकुरी, बादी, गाईने..............) 
    जाती भनेको के हो? 
     कुनैपनि देश भुगोल भित्र पृथक (वेग्लै) वंश (नश्ल), भाषा धर्म, संस्कृति, भूमी, लिपी र पहिचान भएको मानव समूहलाई जाती भनिन्छ । जस्तै खस–आर्यजाति, मंगोलजाति, नेग्रोजाती) यस भित्रपनि खस–आर्य, मंगोल–मगर, गुरुङ्ग, शेर्पा जाति हुन् जात होइनन् । 
    थर भनेको के हो? 
     पितृसतात्मक समाजमा पुरुष वंशावलीबाट सन्तान, दरसन्तान हुदै आएको उपनाम अथवा वंशाणुगत पद, पहिचान नै थर हो। नामको पछाडि लेखिने उपलाई नै थर भनिन्छ । आजभोली पुरुष वंशावलीमा पनि महिला (छोरी) हरु तर्फबाट पनि प्रारुप वंशबाट नाम र आफ्नो मूल परम्पराबाट पनि थर लेख्ने गरेको पाइन्छ । थर लेख्ने प्रचलनको ईतिहास ईस्वी सन् छैटौ शताब्दी तिरबाट लेखिने गरेको पाइन्छ । लिखित प्रमाणको आधारमा सन् ६०० तिर दैलेख जिल्लामा भेटिएको शिलालेखमा प्रथम पटक जैसी भनेर थर लेखिएको छ। थर विशेषगरी ठाउँ विशेष र काम विशेषबाट थर बनेका हुन् । जस्तै जुम्लाको सिञ्जामा बसेका सिजापति, पौड, गडवालबाट हिडेका पौडेल, दैलेखको दललुबाट हिडेका दलाल । अधिकांशको भ्रम के छ भने दलित समुदायको थर क्षेत्री बाहुन सँग मिल्छ, राखे भन्छन् ।

    मिल्छ होईन एउटै हो । राणाकालिन समयमा र पञ्चायतमा तत्कालिन शुद्र अहिलेका दलितलाई थर लेख्न नदिएका कारण र नेपालको शिक्षा प्राणालीमा थर कसरी वस्यो भनेर कहिल्यै नपढाएको र पढ्न नदिएका कारण दलित समुदायलाई नामको पछाडी जात नै लेख्नु पर्ने बाध्यताका कारण अहिलेसम्म पनि नामको पछाडि कामी, दमाई, सार्की लेखिएका छन् र अहिले आफ्नो थर लेख्दा दलितले बाहुन क्षेत्रीसँग समान हुन भने जात ढाटे भनेर भन्ने गर्दछन् । 
     जात व्यवस्थामा आधारित धर्म, संस्कृति, सत्ता, राजनिती र अर्थ व्यवस्थामा बनेको नेपाली समाज यहाँ व्यक्तिको सामाजिक हैसियत, सम्मान, व्यवहार, सेवा सुविधा, दण्ड सजाय, जरिमाना पनि जात कै आधारमा निर्धारण हुने गर्दछ । वर्णाश्रम व्यवस्था अनुसार तहगत रुपमा विभाजन र विभेद गरिएको व्यवस्थामा उपाध्य बाहुनले जैसी बाहुनलाइर्, जैसी बाहुनले क्षेत्रलाइर्,  क्षेत्रीले झर्नाे क्षेत्रीलाई, झर्नाे क्षेत्रीले घर्ती क्षेत्रीलाइर्, घर्ती क्षेत्रीले विश्वकर्मालाई, विश्वकर्माले दमाईलाई अथवा व्राम्हणले क्षेत्रीलाई, क्षेत्रीले मतवालीलाई, मतवालीले शुद्रलाई दमन र विभेद गर्छ । यसरी हिन्दु र हिन्दुकरण भएको समाजमा कुनै पनि जात एक अर्कामा समान नजर र समान सामाजिक हैसियतमा छैनन् ।

    यसकारण न्यायधीस, प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, राजनितीक दलमा प्रमुख, सरकारी अंगमा प्रमुख, सेना प्रमुख, प्रहरी प्रमुख हरेक स्थानमा को रहने भन्ने कुरा जातले निर्धारण गरेको हुन्छ र हुँदै आइरहेको छ। एउटै धर्म, संस्कार, संस्कृति मान्ने समुदायमा पनि कुनै निश्चित जात मात्रै मन्दिरको पुजारी हुने, गुरुकुलमा पढ्ने जो जन्मेदेखि मुत्युपर्यन्तसम्म पनि हिन्दु संस्कृतिबाट जीवनयापन गर्दापनि मन्दिर प्रवेश गर्न नपाउने, पानी नचल्ने, रोटीवेटी नचल्ने फेरी ति समुदाय हिन्दु धर्म कै कित्तामा राखिनुपर्ने बाध्यता छ । विश्वमा सवैभन्दा धेरै करिव ३००० वर्ष देखि गुलाम हुँदै आएका हिन्दु शास्त्रका शुद्र र आजका दलित हुन् । यी सुद्रलाई पढ्ने, लेख्ने, सम्पत्ति राख्न पाउने अधिकारबाट राज्यले वञ्चीत बनाएका कारण जुन समुदायमा अहिले ९०% गरिव छन् । कडा मेहनत, वैदेशिक रोजगार, व्यापारबाट न्यून जनसंख्याले गरेको आर्थिक सुधारमा नेपाली समाजमा ओहो कामीले यत्रो घर बनायो भनेर अचम्म मान्ने नेपाली समाजको मानिसकता छ । कहि घर घडेरी किनवेच गर्नुपर्दा पनि शहरबजारमा कामी, दमैलाई नजिक नराख्ने, यदि नजिकमा कामी, दमैले घर घडेरी किनीहालेमा हरेक उपाय लगाएर निकाल्ने र नसके आफैले छोडेर हिड्ने प्रमाण अनगिन्ति छन् । नेपालको राजधानी काठमाण्डौ जस्तो ठाउँ जहाँ विश्वमा १५० भन्दा बढी देशमा मान्छे बस्छन् आईजाई गर्दछन् । विकशित ठाउँमा डाक्टर र शिक्षकको घरमा भाडामा बस्दा जातकै कारणले निस्किनुपर्ने, जात ढाटेर बस्नुपर्ने र देशको कानुन बनाउने सांसदले समेत जात कै कारण डेरा नपाउने नोपली समाजको वास्तविकता हो । 

     जात व्यवस्था भएको हिन्दु समाजमा एक अपरिचित व्यक्तिले अर्काे व्यक्तिलाई देख्नासाथ यो के जात को होला? म भन्दा सानो ठूलो या मेरै जात को हो भनेर सोध्ने गर्दछन् । एक अपरिचितले अर्काे अपरिचित को जात थाहा नहुँदासम्म कुनै पनि विभेद हुँदैन । जब व्यक्तिको जात थाहा हुन्छ । जात अनुसारको हेर्ने दृष्टिकोण सेकेण्डमै फरक भई हाल्छ । आफु भन्दा सानो जात भन्ने थाहा पाउने वित्तिकै एक सेकेण्डमै उसको मानसपटल ०बाट ९० मा पुग्दछ । एकैछिनमा उ व्यक्ति अछुत, सानो भैहाल्छ । एउटा बाहुनको छोरा जतिसुकै जड्याहा भएपनि र एउटा दमैको छोरा डाक्टर, ईन्जिनियर भएपनि सामाजिक हैसियत सम्मान र मर्यादामा बाहुन सधै उच्च हुने गर्दछ । कुनै क्षेत्री बाहुनले खान लगाउन नजानेमा, गलत काम गरेमा कस्तो कामी, दमाईले जस्तो गरेको जात फाल्यो कुजातमा गयो भनेर बहिस्कृत गर्ने र कामी दमाईले गल्ती गर्दा सानो जात, सानो बुद्धि, जात जनाईहाल्यो भन्ने गर्दछन् हाम्रो समाजमा । दलित समुदायमा कुनै गोरो सर्लक्कको मान्छे जन्मिन्छ भनेपनि हाम्रो समाजमा ओहो ! कति राम्रो,राम्री क्षेत्री बाहुनको छोराछोरी जस्तो यस्को मतलव दलित समुदायमा सुन्दरता भन्ने नै हुँदैन ? 

    अन्त्यमा: नेपाली समाजमा सोच्ने चेतना, हेर्ने नजर, बुझ्ने बुझाई सौन्दर्यता समेत जातमा आधारित छ । यसरी करिव तीन हजार वर्ष अगाडि देखि आजको विश्वव्यापीकरण विज्ञान र प्रविधि युगमा समेत हजारौ वर्षदेखि अभ्यासरत जात व्यवस्था, छुवाछुत र विभेदमा अभ्यस्त नेपाली समाजमा मनोविज्ञान जातमा जवरजस्त रुपमा गढेर बसेको छ । त्यसैले यो घृणीत मनोविज्ञानको उपचार नै छुवाछुतको उन्मूलन र जात व्यवस्था खारेज र हिन्दु धर्मको वर्णव्यवस्था अन्त्य हिन्दु शास्त्र संसोधन नै बैज्ञानिक समाधान हो ।

  • सम्बन्धित विषय:

  • # विचार
  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology