Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशी बाबु र नेपाली आमाका सन्तान अनागरिक

विदेशी बाबु र नेपाली आमाका सन्तान अनागरिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • ०८:३४:०२ बजे
  • 1.7K
    SHARES
  • विदेशी बाबु र नेपाली आमाका सन्तान अनागरिक
    महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेशदिएको थियो । तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको उनी बताउँछन् । ‘जति पटक जान्छु, कानुन नबनेसम्म दिन सकिँदैन भनेर फर्काउँछन्’, उनी भन्छन्, ‘२०६९ मा मुद्दा हालें, २०७४ मा नागरिकता दिनू भनेर सर्वोच्चले फैसला गर्‍यो । तर, अहिलेसम्म मैले नागरिकता पाएको छैन ।’ आमाको नामबाट नागरिकता नपाउँदा शाहजस्तै धेरै युवायुवती मानसिक तनावमा छन् ।

    यस्तै समस्या झेल्दै आएका बाँकेका एक युवाले आत्महत्या गरेका छन् । सुनसरीका एक युवाले पनि वडा कार्यालयले नागरिकताको सिफारिस नदिएपछि आत्महत्या गरेका थिए । शाहका अनुसार नागरिकता नहुँदा राज्यबाट आउने आधारभूत सुविधादेखि शिक्षादीक्षामा प्रत्यक्ष प्रभाव परिरहेको छ । सिमकार्ड लिन, बैंक खाता खोल्न, प्यान लिनदेखि प्रत्येक काममा नागरिकता आवश्यक पर्छ । अदालतले आदेश दिँदा पनि धेरै युवाले नागरिकता पाइरहेका छैनन् । कोभिड महामारीका बेला पाउने राहत र बिमा सुविधाबाट पनि वञ्चित हुनुपरेको शाह बताउँछन् । सरकारले बाँडेको राहत आफू र परिवारले नपाएको उनको भनाइ छ । ‘कोभिडको बिमा पनि गर्न सकेको छैन । सरकारी राहत पनि नागरिकता नहुँदा दिएनन्’, उनको गुनासो छ, ‘सर्वोच्चले दिनूभन्दा पनि दिएनन् ।

    के म अब संयुक्त राष्ट्रसंघ जाऊँ ? के उसले भनेर देलान् त ?’ पोखराका ३२ वर्षीय सुरज हजारे दाहाल पनि नागरिकता नहुँदा आफ्नो शिक्षामा ठूलो असर परेको बताउँछन् । ‘कक्षा १२ मा म जिल्लाकै उत्कृष्ट विद्यार्थी थिएँ । तर, ब्याचलरको पढाइ नागरिकताकै कारण बिग्रियो’, दाहालको गुनासो छ, ‘मानसिक तनावले मेरो पढाइमा असर परेको हो ।’ उनका बाबु भारतीय र आमा नेपाली हुन् । आफूले नेपालमै शिक्षादीक्षा लिएको उनको भनाइ छ । काठमाडौंका २७ वर्षीय राजन प्रधान (नाम परिवर्तन) लाई नागरिकता नहुँदा उच्च शिक्षा हासिल गर्न विदेश जान सकस परेको छ । होटल म्यानेजमेन्टतर्फ स्नातकोत्तर गर्न जानका लागि नागरिकताको पर्खाइमा रहेको उनको भनाइ छ । नागरिकतासम्बन्धी विधेयक चाँडै पारित नभए आफ्नो पढाइमा ठूलो धक्का लाग्ने उनी बताउँछन् ।

    जिल्ला प्रशासन कार्यालय जाँदा कानुन बनेपछि मात्रै नागरिकता बनाइदिने भन्दै फकाउने गरेको उनको गुनासो छ । उनी पनि विदेशी बाबु र नेपाली आमाका सन्तान हुन् । ललितपुरकी विष्णु नकर्मी (नाम परिवर्तन) लाई नागरिकता नभएकै कारण आफू हरेक स्थानमा हेपिएको महसुस गर्छिन् । नागरिकता नहुँदा स्नातकको प्रमाणपत्रसमेत नपाएको उनको गुनासो छ ।

    दुई वर्षअघि आमाको मृत्यु भएपछि उनी हजुरआमासँग बस्दै आएकी छन् । उनी जन्मिएका बेला आमालाई अस्पतालमा छाडेर उनका बुवा बेपत्ता भएपछि हालसम्म सम्पर्कमा छैनन् । निजी संस्थामा जागिर गर्ने उनले अन्य सहकर्मीको कोभिड बिमा हुँदा आफ्नो नहुँदा सबैभन्दा नराम्रो लागेको उनी सुनाउँछिन् । ‘अफिसका अरू सबैको बिमा भयो तर मेरो भएन’, उनी भन्छिन्, ‘के म गैरनागरिक हो ? यहीँ जन्में, हुर्कें, पढें ।’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आमाको नाममा वंशजको नागरिकता लिन समस्या नभएको बताए ।

    बाबु विदेशी भएको हकमा भने बाबुको देशमा नागरिकता नभएको प्रमाण पेस गर्नुपर्ने विद्यमान कानुनी व्यवस्थाअनुसार हुने गरेको प्रवक्ता बुढाको भनाइ छ । उकत समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology