कार्तिक २५, २०७७ मंगलवार
•
१२:३३:१२ बजे
चीनको वुहानमा करीब १२ महिना अघि देखिएको कोरोनाले अहिले संसारभर ठूलो महामारीको रुप लिएको छ ।नेपाल पनि संक्रमितको संख्याका हिशाबले ३४ औं देश बनेको छ र यहाँ संक्रमितको संख्या २ लाखको नजिक छ । यस्तो अवस्थामा विश्वका ठूला देशहरु कोरोना बिरुद्धको भ्याक्सिन बनाउन र परीक्षण गर्न व्यस्त छन् । यस्तोमा सबै भन्दा पहिला चीनले भ्याक्सिन बनाउन शुरु गर्यो भने रुसले छिटो परीक्षण गर्यो स्पुतनिक ५ को । त्यस पछि अहिले बेलायत, अमेरीका , युरोपमा यसको परीक्षण र उत्पादनका कामहरु चलिरहेका छन् ।
हिजो मात्रै फाईजरले ९० प्रतिशत संक्रमितमा प्रतिरोध क्षमता बढाएको रिपोर्ट सार्वजनिक गरी आशाको सञ्चार गरेको छ । विभिन्न देशमा बनेका भ्याक्सिनहरु लाखौँको संख्यामा मानिसहरुले प्रयोग गरीसकेका छन् । नेपालमा चीन, रुस, युरोप वा बेलायत अमेरीका कतै बनेको खोपको पनि परीक्षण अनुमति दिएको छैन । नत कुनै उत्पादक कम्पनी वा देशसगँ खोप आपुर्ति सम्झौता नै गरेको छ ।केही समय अघि रुसी भ्याक्सिन नेपाल ल्याउने समझदारी एउटा निजी कम्पनीले गरेको सार्वजनिक भए पनि सरकारले त्यसलाई अस्वीकृत गर्दै सरकार आफैले भ्याक्सिन ल्याउछ भन्यो ।
हालैका दिनमा चीनमा उत्पादित खोप लगाएका कामदारहरु नेपालमा आएर काम गरीरहेका छन् । बुझिए अनुसार चीनले मुलुक बाहिर जाने नागरिकका लागि खोप दिईरहेको छ ।तर उपचार एवं व्यवस्थापन प्रणाली समेत कमजोर रहेको हाम्रो मुलुकमा सरकारले खोप ल्याउने तयारी अझै प्रभावकारी गर्न नसकेका बेला बल्ल समिति बनाएको छ ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भ्याक्सिन आपुर्तिका लागि सचिव स्तरीय समिति बनाएको छ ।
त्यस समितिमा अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिव रहेका छन् ।समितिले कहाँ कहाँ भ्याक्सिन बनेको छ, छिटो नेपालमा कसरी ल्याउने र आर्थिक व्यवस्थापनको तयारी गर्ने भनिएको छ । यसरी हेर्दा नेपालमा कोरोनाको खोप भित्रिन अझै लामो समय लाग्ने देखिन्छ ।