Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बन्द बेनी खुल्ला

बन्द बेनी खुल्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७७ बुधवार • ०९:३५:०५ बजे
  • 1.1K
    SHARES
  • बन्द बेनी खुल्ला

    बेनी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ ।

    images

    लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको बताए ।

    कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो । पाँच सय ८१ घरको तीन हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण भएकाको नमूना सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताए ।

    घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो ।

    प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर, मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव, भेला गर्न रोक लगाइएको भन्दै प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।

    मङ्गला गाउँपालिकाले मङ्सिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन् । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना सङ्क्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ ।

    म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाबाहिर सङ्क्रमण पुष्टि भएका म्याग्दीका ११ जनाको औपचारिक र सात जनाको अनौपचारिक जानकारी छ । म्याग्दीबाट दुई हजार १० वटा स्वाबको नमूना परीक्षणका लागि पठाइएकोमा एक हजार ९७६ वटाको नतिजा आएको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology