Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीका सन्तबहादुर २० वर्षदेखि साउदी अरबको जेलमै

म्याग्दीका सन्तबहादुर जस्ले भेडा जोगाउँदा अर्को व्यक्ति मारिएपछि मृत्युदण्डको सजाय

म्याग्दीका सन्तबहादुर जस्ले भेडा जोगाउँदा अर्को व्यक्ति मारिएपछि मृत्युदण्डको सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • २०:३६:१५ बजे
  • 2.0K
    SHARES
  • म्याग्दीका सन्तबहादुर जस्ले भेडा जोगाउँदा अर्को व्यक्ति मारिएपछि मृत्युदण्डको सजाय
    साउदी अरबको कुरैयात जेलमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेखबर बनेपछि दूतावास झस्कियो, कतै उनीमाथि २० वर्षअघि सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन त भएन ? 

    उनको अवस्था बुझ्न गत बुधबार राजधानी रियादबाट दूतावासका कन्सुलर भरत खनाल कुरैयात जेलमा पुगे । यो जेल रियादबाट १२ सय किमि टाढा पर्छ । जेल प्रशासनसँग भेट भएपछि बल्ल ढुक्क भए उनी, सन्तबहादुरको अवस्था ठीक छ । यही खुसीको खबर उनले राजदूत महेन्द्रसिंह राजपुतलाई सुनाए । राजपुत यतिबेला स्थानीय गभर्नरसँग भेटका लागि पुनः समय मिलाउने तरखरमा लागेका छन् । ‘उनी पहिला जस्तो खुसी देखिँदैनन् । पहिला बिन्दास थिए,’ कन्सुलर खनालले भने, ‘मलाई पनि चिनेनन् ।’ खनालसँग उनको यो तेस्रो भेट थियो । जेलमा इन्टरनेट हटाइदिएपछि सन्तबहादुरको परिवारसँग पनि सम्पर्क टुटेको रहेछ । पहिले इमोमार्फत उनले घण्टौंसम्म परिवारसँग संवाद गर्थे ।


    म्याग्दीका सन्तबहादुर २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो । भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदी बारम्बार भेडा माग्न आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । हप्कीदप्की गरेर उनले सन्तबहादुरलाई पिट्नै खोजे । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मलाई पनि फाँसी हुन्छ भनेर त्यतिखेरै आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्‍यायो ।’

    उनले प्रहरीसमक्ष नढाँटी घटना विवरण सबै बताइदिए । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो ।

    मृतकका तीन छोरा थिए । त्यतिखेर कान्छा छोरा ५ वर्षका थिए । उनी १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्ड कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो । मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट गत फागुनमा कान्तिपुरसँग भनेका थिए, ‘यही घरभित्र बाँच्न सिकें ।’



    जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्थे । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दो रहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ । यस्तो सजाय हरेक मंगलबार कार्यान्वयन हुन्छ ।’ सन्तबहादुरको जीवनमा मंगलबारे खड्गो भने टरिरहेको छ । मृतकका माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।

    जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए । पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिन राजी छन् । तर, मृत्युदण्ड वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन  ।

    साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टोबर २०१८ मा कुरैयातको जेलबाट फैसलाको प्रति मगायो । कमिटीले बोलाएर छलफल गर्दा पनि पीडित पक्ष सहमत भएनन् । परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए माफी दिन मिल्दैन । फैसलालाई कार्यान्वयन गराउनका लागि परिवारले दबाब दिएपछि जेठो छोरा फाहदले अदालतलाई पत्र लेख्दै फैसलालाई कार्यान्वयन गराउन पत्र दिइसकेका छन् । अदालतले फैसला कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयास सफल भएका छैनन् । सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । राजदूत राजपुतले खासगरी पीडित परिवारको कान्छो छोरा सहमतिमा आउनेबित्तिकै समस्याको समाधान हुने बताए ।

    ‘२० वर्षभन्दा बढी जेल बसिसकेको छ । अब यसलाई मानवीय हिसाबले पनि हेरिदिनुपर्छ भनेर त्यस क्षेत्रको गभर्नरलाई भनेको छु,’ राजदूत राजपुतले भने, ‘यो कानुनी हिसाबले सल्टिँदैन । गभर्नरलाई आफ्नो पद र व्यक्तित्वबाट परिवारलाई प्रभावित बनाउन सके भने मात्रै फाँसी रोकिन सक्छ ।’ फाँसीबाट जोगाउन दूतावासबाट भने अनेक सूत्रहरू प्रयोग भइरहेको उनले बताए ।

    पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए । सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । उनका शिव, खड्ग र मीनबहादुर गरी तीन छोरा छन्  । शिव शारीरिक रूपमा अशक्त छन् ।

    सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’ सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्छन् । जेलमा बस्ने साउदीको लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् । अहिले भने पहिलाजसरी जेलभित्र काम गर्न सकेका छैनन् ।

    ‘उमेर पनि बूढो हुँदै गएको देखें । परिवार नै पाल्नका लागि मरिमेटे जस्तो लागेन,’ कन्सुलर खनालले भने । लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने आशा पत्नी मायालाई पनि छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन,’ मायाले पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ?’

    सन्तबहादुरलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुने थिएँ,’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ ।’यो समाचार कान्तिपुरमा होम कार्कीले लेखेका छ्न ।
    कान्तिपुर बाट साभार

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology