कार्तिक २९, २०७७ शनिवार
•
१३:१०:३० बजे
धेरै व्यक्तिहरूको मनमा छ र बेलाबखत धेरैको मुखबाट "politics is darty game" भनेको पनि सुनिन्छ । तर राजनीति कहिले पनि फोहोरी थिएन र छैन पनि ।
रैडिकल मुसलमानहरूले अल्लाहको नाममा निर्मम हत्या गरिरहेका छन्, त्यसको मतलव कुरान नै खराब त होइन ।
महाभारतको युद्धलाई हिंसाको रूपमा हेरी खराब भन्न सकिन्छ र ?
महाभारत कथा विश्वको नै उच्च श्रेणीको दर्शनमा चिनिन्छ । राजनीति पनि त्यस्तै हो । गलत व्यक्तिहरूले गलत तरिकाले शक्तिलाई आफ्नो हातमा राख्न खोजेकाले तथा राजनीतिको ‘र’ पनि नजानेका व्यक्तिहरूले षड्यन्त्र गरी विशिष्ट पदमा आसीन भएकाले एवं शक्तिको दुरुपयोग गरेकाले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिइयो ।
मनुष्यको हेर्ने दृष्टिकोणमा र विश्लेषणमा भर पर्छ । राजनीतिलाई फोहोरी बनाउन जति हाम्रा अग्रज नेताहरू दोषी छन् त्यति नै हामी पनि दोषी छौं ।
छलछाम, चाकडी र चाप्लुसी अनि गुट र उपगुटमा बिभक्त खुट्टा तान्ने प्रवृत्ति फोहोरी हुन। यहाँ सिद्धान्त आदर्श र मुल्यमान्यता सब ओझेलमा पारिन्छ।विधि बिधान र दर्शन रद्दी टोकरिमा फालिन्छ तब शुरु हुन्छ फोहोरी राजनीति ।
के हो त राजनीति ?
राजनीति भनेको एउटा दर्शन हो । राजनीतिक दर्शनअन्तर्गत राजनीति, स्वतन्त्रता, न्याय, सम्पत्ति, अधिकार, कानुन तथा सत्ताद्वारा कानुनलाई लागू गर्ने आदि विषयहरू सम्बन्धित प्रश्नमा चिन्तन गरिनु हो ।यिनको आवश्यकता किन छ ? कुन वस्तुले सरकारलाई कानुनी रूपले वैधानिक बनाउँछ ?
कुन अधिकार र स्वतन्त्रतालाई रक्षा गर्नु सरकारको कर्तव्य हुन्छ ?
विधि के हो ?
कुनै वैधानिक सरकारप्रति जनताको के कर्तव्य हो ?
कस्तो अवस्थामा कुनै सरकारलाई ढलाउनु वा पतन गर्नु वैध हुन्छ आदि आदि ।
तर दु:खको कुरो ....
दुईतिहाई नेकपाको राजनीतिमा मार्क्सको चर्चा हुनुपर्थ्यो, लेनिन र माओको चर्चा हुनुपर्थ्यो, चे-ग्वेभारा, होचिमिन्हको चर्चा हुनुपर्थ्यो!
न्युटन, डार्विन, आइन्स्टाइन र हकिङ्सहरुको चर्चा हुनुपर्थ्यो !
१९ औं शताब्दीका कम्युनिस्टहरुले गरेका गल्ती र ढलेको समाजवादी शिविरको समिक्षा हुनुपर्थ्यो !
बाढीले बढारिएका, आगो झोसेर खरानी पारिएका झुपडीको चर्चा हुनुपर्थ्यो, पेटभरि खान नपाएका र आङ ढाक्न नपाएका नागरिकको चर्चा हुनुपर्थ्यो!
यत्रो बलिदानीबाट ल्याएको गणतन्त्र र जाने समाजवाद र पुग्ने साम्यवादको बहस हुनुपर्थ्यो !
तर यहाँ ,
माकुने गुट, बामदेव गुट, प्रचण्ड गुट र ओलि गुट्को चर्चा हुन्छ !
लेनिनवादका ठाउँमा हनुमानवादको अभ्यास हुन्छ !
दर्शन, वर्ग, राजनीति र समाजको कुरा नगर्ने तर, अर्कैको दर्शन, अर्कैको वर्ग र अर्कैको राजनीतिप्रति औधी मोह राख्ने, आपस मै बाझिएको यो कस्तो दृष्टिकोण हो,
कस्तो राजनीति हो ?
तसर्थ पुन: एकपटक भन्छु राजनीति फोहोरी खेल थिएन फोहोरी बनाईयो।
राम चन्द्र तिम्सिना
(आवाज)