बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा आज बिहान कोहलपुरमा मृत्यु भएको हो ।
घोराही उपनहानगरपालिका वडा नम्बर १७, दाङका ७९ बर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोनाको आशंकामा कात्तिक १९ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २१ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनि होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंसिर २ गते राती १२ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनको उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रदै गएपछि आज विहान २ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसंगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४० पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।