संसारकै अग्लो भूभाग सगरमाथा फोहोरले थलिन थालेको भन्दै बेलायती सञ्चारमाध्यमले चिन्ता व्यक्त गरेका छन् । सगरमाथामा फेला परेका ससाना प्लाष्टिकले सतहमा ठूलो नोक्सानी पुगेको वातावरणविद्हरुले बताएका छन् । सगरमाथाको शिखरबाट ४ सय मिटर तलसम्म माइक्रोप्लाष्टिक फोहोर फेला परेको छ । फोहोर हिउँसँग मिसिएको छ । सबैभन्दा उचाइमा फोहोर फेला परेको ठाउँलाई सगरमाथाको बालकोनी भनिन्छ । यी फोहोर ५३०० मिटरदेखि ८४४० मिटरको उचाइसम्मका ११ स्थानमा फेला परेका छन् ।
द गार्जियनमा प्रकाशित रिपोर्ट अनुसार सबैभन्दा धेरै ससाना प्लाष्टिकको फोहोर एभरेष्ट बेसक्याम्प नजिकै फेला परेको छ । पर्वतारोहीले यहाँ सबैभन्दा धेरै समय बिताउने गरेका कारण फोहोर पनि धेरै फेला परेको हो । माइक्रोप्लाष्टिक फोहोर धेरैजसो पर्वतारोहीले प्रयोग गरेका कपडा, टेन्ट, रसी, झोला लगायतका छन् । कतिपय अवस्थामा पर्वतारोहीले लैजान नसकेका सामग्री पनि त्यहीँ छाडेर हिँड्ने वा लैजान बिर्सिने गरेका कारण पनि फोहोर बढ्ने गरेको छ । यी फोहोरबाट सुक्ष्म प्लाष्टिक निस्किएर छरिएको पाइएको छ । कतिपय अवस्थामा ससाना प्लाष्टिक वा फोहोर हावाको माध्यमबाट अन्य ठाउँमासमेत पुगेको पाइएको छ ।

प्लेमाउथ विश्वविद्यालयका अनुसन्धानकर्ता इमोजेन न्यापरले एम्भरेष्टको फोहोरले आफू चिन्तित भएको बताउँछन् । उनी भन्छन्, ‘सगरमाथा सधै पवित्र र सफा मानिन्छ । तर, माइक्रोप्लाष्टिक फोहोर तथा प्रदूषण सुनेर म हैरान भएको छु । हामी मानिसले संसारको सबैभन्दा अग्लो स्थानमा पनि प्रदूषण गरेका कारण मलाइ दुख र हैरानी लागेको छ । हामीले एउटा महत्वपूर्ण समाधान खोज्नु आवश्यक छ, जसले सगरमाथाको प्रदूषण कम गर्न सकियोस् वा निमिट्यान्न पार्न सकियोस् ।’
इमोजेनले प्लाष्टिक फोहोर सड्न नसक्ने भएकाले चिन्ता व्यक्त गरिएको बताएका छन् । उनी भन्छन्, ‘हामीले पुन: प्रयोगको व्यवस्था गर्नुपर्छ । प्रयोगमा ल्याउने खालका ठूला ठूला फोहोर मात्र हुन सक्छन् । तर, ससाना प्लाष्टिकका टुक्रा रोक्नका लागि प्रयोगकर्ताले नै सावधानी अप्नाउनुपर्छ । माइक्रोप्लाष्टि फोहोर नियन्त्रणका लागि हामीले प्रयोग गर्ने सामग्री विशेष प्रकारले बनेको लगाउनु पर्छ । ती सामग्रीमा विशेष प्रकारले बनाउनु आवश्यक हुन्छ ।’

हरेक वर्ष लाखौँ टन प्लाष्टिक पर्यावरणमा हराउने गर्छ । कहिले हावामा उडेर त कहिले पानीमा बगेर हराएको प्लाष्टिकजन्य फोहोरले कुनै एक टाउँमा प्रदूषण निम्ताउने गर्छ । यसले वाइल्डलाइफ या खाद्य पदार्थको नष्ट गरिरहेको हुन्छ । त्यतीमात्र होइन, माइक्रोप्लाष्टिकले खानेकुरा, पिउने कुरा र हावाको माध्यमबाट मानिसको शरीरभित्र जान्छ र मानवजीवनमै नोक्सानी बेहोर्नुपर्छ ।
सगरमाथाको प्रदूषणको कुरा गर्दा त्यहाँबाट हरेक वर्ष फोहोर उठाउने गरिन्छ । सन् २०१९ मा ८ सय ८० जनाले सगरमाथाको आरोहण गरेका थिए । अध्ययनअनुसार सगरमाथामा पाइएको माइक्रोप्लाष्टिक ५ मिलिमिटर या त्यो भन्दा पनि छोटोछोटो आकारमा पाइएको छ । यसलाई संकलन गर्न वा जम्मा गर्न सकिँदैन ।

इमोजेन र उनको टोलीले गरेको गहन अध्ययन वन अर्थ नामक साइन्स म्यागेजिनमा प्रकाशित भएको छ । इमोजेन र उनको टोलीले नेसनल जियोग्राफिक एक्सपेडिसनद्वारा सन् २०१९ मा सगरमाथाबाट उठाएका स्याम्पलको अध्ययन गरिएको थियो ।
वैज्ञानिकले निकालेको निष्कर्ष हैरान गर्ने खालको रहेको छ । सगरमाथाको हिउँ पगालेर एक लिटर पानी बनाउँदा ३० माइक्रोस्कोपिक प्लाष्टिक कण फेला परेको थियो । जबकि सबैभन्दा प्रदूषित पानीमा ११९ माइक्रोस्कोपिक प्लाष्टिकका कण रहेका थिए ।