काठमाडौँको महाराजगञ्जस्थित कतार भिसा सेन्टर (क्यूभिसी) आगामी १० डिसेम्बर तदनुसार मंसिर २५ गतेबाट पुनः सञ्चालनमा आउने भएको छ ।
कोरोना महामारीका करण बन्द रहेको भिसा सेन्टरले अहिले एपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ ।
भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकले छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ ।
भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छापको सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमै हुने गरेको थियो।
अब यी सबै काम नेपालबाट पूरा हुनेछ । जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।
सेन्टर आइतवार देखि बिहिबारसम्म बिहान ८ः३० देखि साँझ ४ः३० बजेसम्म संचालन हुने जनाइएको छ ।