एजेन्सी । पृथ्वीको वातावरणमा एक उल्का पिण्ड विष्फोट हुँदा केही सेकेण्डका लागि अत्यन्तै चम्किलो प्रकाश र ठूलो आवाज आयो ।
गत बुधबार अचानक भएको यो घटना अमेरिकादेखि लिएर क्यानाडाका केही शहरहरुमा देख्न पाइएको थियो ।
विभिन्न सामाजिक सञ्जालमा यो घटनालाई ‘सोनिक बूम’ नाम दिंदै पोस्ट गरिएका भिडियोहरु अहिले सर्वत्र भाइरल बनेका छन ।
अमेरिकाको मीटियार सोसाईटीको रिपोर्ट अनुसार ओन्टारियो, न्युयोर्क, वाशिंगटन, मेरील्याण्ड, भर्जिनियालगायतका शहरहरुमा करिब १५० जनाले सोनिक बूमका बारेमा बताएका थिए ।
उनीहरुका अनुसार मध्य दिनको घमाइलो आकाशमा निकै चर्को आवाज सुनियो । घरको छतमा कुनै विशाल बस्तु खसे जस्तै लाग्नेगरी चर्को आवाज आएको थियो ।
अचानक देखिएको यो आकाशीय घटनाले धेरैलाई भयभित र अचम्भित पनि बनायो । ‘मानौं पृथ्वीको अन्त भएको हो कि भने जस्तो लाग्यो’ थुप्रैले सामाजिक सञ्चालमा यस्ता स्टाटसहरु पोस्ट गरेका थिए ।
लाउरेन रेइन्सन नाम गरेकी एक महिलाले पनि न्युयोर्कको आकासमा विशाल र चम्किलो पिण्ड देखिएको र अचम्भित पार्ने खालको भए पनि यो धेरै राम्रो भएको भन्दै ट्विट गरेकी छिन ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका उल्कापिण्ड एन्भायरमेन्ट कार्यालयका प्रमुख बिल कुकका अनुसार यो उल्का पिण्ड ५६ हजार मिटर प्रति घण्टाको गतिमा पृथ्वी तर्फ आएको थियो ।
पृथ्वीको वातावरणमा प्रवेश गरेपछि पृथ्वीको सतहभन्दा २२ माइल माथी न्युयोर्क शहरको आकाशमा विष्फोट भएर टुक्रा टुक्रा भयो ।
त्यसबेला निकै चम्किलो प्रकाश र चर्को आवाज पनि सुनिएको थियो । यसबाट सोनिक बुम उत्पन्न भएको थियो ।
कुनै पनि बस्तु पृथ्वीको वातावरणमा आवाजको गतिभन्दा पनि तिब्र गतिमा प्रवेश गर्दा शकवेभ उत्पन्न हुन्छ । यसैलाई सोनिक बूम भनिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।