नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी जहाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो । मिनि पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले निर्माण पूरा भइसकेकाले उद्घाटनको दिन जुर्ने बितिकै तयारी पूरा गरेर सञ्चालन गर्ने बताए ।
देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकाले मिनि पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको उनले जानकारी दिए । कँडेलले भने, ‘क्रुजशीप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’ अहिले पानीजहाजलाई अन्तिम रंगरोगन दिने काम भइराखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गर्नुभएकाले समय नपाएको जानकारी दिए ।
उनले भने, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गतवर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि प्रमुख अतिथिको समय नमिल्दा उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो ।
मन्त्रीदेखि पार्टीका नेता तथा विभिन्न उच्चपदस्थ व्यक्ति चितवन आउँदा पानी जहाज हेर्न आउने गरेका छन् । अतिथिहरुलाई जहाज चढाएर यसको अनुभव गराउँदै आए पनि खुला रुपमा सञ्चालन भने गर्न नपाएको प्रबन्धक कँडेलले बताए । गृहमन्त्री रामबहादुुर थापा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरुले पानीजहाजको अवलोकन गरिसकेका छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।