नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा प्रमुख कृष्ण बहादुर आले मगर सेवाग्राहीसँग घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन्।
मगरले घुस मागेको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा सूचना दिएपछि अख्तियारले स्ट्रीङ अप्रेशन गरि उनलाई आज साँझ कार्यालयबाटै घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो।
सोमबार बिहान आँबुखैरेनी गाउँपालिका १ स्थित बरादीमा एक बोलेरो जीप दुर्घटना हुँदा बिजुलीको पोलमा ठक्कर दिई क्षति पुर्याएको थियो।
सोही विद्युतको पोल मर्मत गरी प्रशाखा प्रमुख मगरले ठक्कर दिने गाडिवालासँग खाजा खानको लागि भन्दै १० हजार अतिरिक्त रकम मागेका थिए। पछि वार्गेनिङ गर्दै ५ हजारमा सहमत भएका थिए।
सोही कुराको सूचना गाडीवालाले अख्तियारलाई दिएपछि आयोगका अधिकृत मुकुन्द गौतम नेतृत्वको टोलीले स्ट्रीङ अप्रेसन गरि उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए। मगरलाई थप अनुसन्धानको लागि स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाई अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता रिजाले बताए।