एजेन्सी । अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा बढी राज्यका अभियोजनकर्ताहरूले फेसबुकबिरुद्ध मुद्धा दायर गरेका छन ।
उनीहरुले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै मुद्दा दर्ता गरेका हुन ।
यो मुद्धा फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी कदम मध्येको एक हो।
अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्र्याउने बिषयमा सोच्न आग्रह गरेका छन्। ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन्।
अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई किन्ने वा सिध्याउने शैली लिएको आरोप लगाएका छन्।
अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने काम प्रतिस्पर्धा किन्ने काम भएको बताएका छन्।
तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ। फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको जनाएको छ।
अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेको बिबिसीले जनाएको छ ।