Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संक्रमणको दोस्रो लहर आउँदैछ : विज्ञ

संक्रमणको दोस्रो लहर आउँदैछ : विज्ञ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७७ सोमवार • १६:१४:२२ बजे
  • 3.2K
    SHARES
  • संक्रमणको दोस्रो लहर आउँदैछ : विज्ञ

    सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड नागरिकले पालना गर्न छाडेका छन्, अझ प्रयोगनै निकै कम भएको छ । कोरोनाबाट कसरी बच्ने भन्ने विश्व स्वास्थ्य संगठनले जारी गरेको तथा विश्वभर मान्दै आएको मापदण्ड पालना हुन सकेको छैन ।

    images

    सरकारले विभिन्न माध्ययमबाट कोरोना सम्बन्धी जानकारी तथा सचेतना पनि दिँदै आएको छ । कोरोनाबाट कसरी बच्ने, लागेको अवस्थामा के गर्ने तथा अरुलाई सर्न नदिन के के गर्ने भन्ने विषयमा नियमित जानकारी तथा सचेतना गराइरहेको छ ।

    तर, सरकारले यसरी कोरोना सम्बन्धी विभिन्न जानकारी दिइरहेको भएपनि अहिले सरकारले जारी गरेका कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । नेपालमा कोरोना संक्रमणको अवस्था सामान्यतर्फ उन्मुख भइरहेको समयमा नागरिकले मापदण्ड पालना गर्न छाडेका हुन् ।

    सहर केन्द्रित स्थानहरुमा जनताले मास्क प्रयोग गरेपनि अन्य मापदण्ड भने पालना गरेका छैनन् । सरकारले कोरोनाबाट बच्न व्यक्तिहरुबीच भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड बनाएपनि सार्वजनिक यातायात तथा कार्यक्रमहरुमा मानिसहरु भीड गरेर हिँड्ने गरेका छन् ।

    मन्दिर, पार्टी प्यालेसलगायतका ठाउँमा पनि अहिले मानिसको बाक्लो भीड लाग्ने गरेको छ । यसरी जनताले खुलेआम हिँड्नु यो महामारीको समयमा खतरा भएको जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले बताए ।

    डा. कार्कीले कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा भएकाले यसबाट बच्न मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नु अनिवार्य रहेको बताए । विकसित देशहरुमा अहिले कोरोना संक्रमणको अवस्था नघटेको भन्दै नेपाल पनि कोरोना जोखिमको अवस्थामा नै रहेको बताए ।

    अहिले सार्वजनिक यातायातमा यात्रुहरु कोचाकोच गरेर यात्रा गरिरहेका हुन्छन् । यसरी यात्रा गर्दा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी कुनै पनि मापदण्ड पालना भएको हुँदैन । काठमाडौं उपत्यकाभित्र आउने र बाहिरिने छोटो तथा लामो रुटको गाडीहरुमा पनि मापदण्ड पालना भएको पाइँदैन ।

    कोरोना भाइरस सम्बन्धी विभिन्न सूचना तथा जानकारी सरकारले विभिन्न माध्यमबाट प्रकाशन तथा प्रशारण गरिरहेको छ । टिभी, रेडियो, अनलाइन तथा छापा सबै माध्यमबाट सरकारले कोरोना सम्बन्धी सचेतना तथा जानकारी दिइरहेको छ ।

    सरकारले प्रशारण तथा प्रकाशन गरेको यस्ता खाले सूचनाले आम मानिसमा डर पैदा गराएको छ । तर, घर बाहिर निस्कने समयमा प्राय मानिसले कोरोना सुरक्षा मापदण्ड भने पालना गरेका हुँदैनन् ।

    आफ्नो मोबाइलबाट अन्य व्यक्तिलाई कल गर्दा फोनमा समेत कोरोना सम्बन्धी जानकारी दिने व्यवस्था सरकारले गरेको छ । मन्त्रालयले आम नागरिको हितमा विभिन्न माध्यमबाट तथा विभिन्न भिडियो बनाएर सूचना तथा सचेतना जारी गरेको डा. कार्कीले बताए ।

    सरकारको द्वेध नीति
    कोरोना नियन्त्रण सम्बन्धी सरकारले द्वेध नीति लिएपछि जनताले मापदण्ड मान्न छाडेका हुन् । सुरुवाती समयमा सरकारले सबै जनातालाई कोरोना परीक्षण गराएपनि अहिले लक्षण भएकालाई मात्र गराउने गरेको छ ।

    सुरुवाती समयमा कोरोना संक्रमण देखिनेमा धेरै जसो लक्षण नभएका थिए । तर, सरकारको पछिल्लो नीति लक्षण देखिएकालाई मात्र कोरोना परीक्षण गराउने रहेको छ । यही कारण पछिल्लो समय कोरोना संक्रमणको दर कम भएको छ ।

    तर, डा. कार्की भने मन्त्रालयले विश्वव्यापी रुपमा प्रयोग भइरहेको र विश्व स्वास्थ्य संगठनले जारी गरेको नीति र मापदण्डअनुसार सरकारले परीक्षण नीति परिवर्तन गरेको बताउँछन् । उनले कोरोना नयाँ रोग भएकाले विश्वव्यापी रुपमा जे कुराको प्रयोग भइरहेको छ, त्यही कुरा मान्नु बाध्यता रहेको बताए ।

    एकातिरबाट सरकार कोरोना माहामारीबाट बच्न दैनिक सूचना र विभिन्न माध्यमबाट जानकारी दिने र अर्कोतिर जनतालाई कोरोना केही हैन जस्तो गरी व्यवहार गर्ने रणनीतिको कारण पनि अहिले स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन सकेको छैन । अहिले सरकारले कोरोनालाई माहामारीको रुपमा मानेपनि जनस्तरमा भने कोरोना केही हैन भन्ने अवस्था देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology