Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक रोजगारको नाममा बढ्दो ठगी

वैदेशिक रोजगारको नाममा बढ्दो ठगी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १०:०७:१७ बजे
  • 2.2K
    SHARES
  • वैदेशिक रोजगारको नाममा बढ्दो ठगी

     दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए ।

    images

    उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार छन् । विदेश पठाउने भनी पैसा बुझाएर ठगिएका घोराहीका जीवन घर्ती, खुमबहादुर खड्का र तुलसीपुरका श्यामलाल चौधरी ठगी गर्ने व्यक्तिको खोजीमा छन् । विदेश जाने लोभमा ठगिएका श्यामलाल भन्छन्, ‘शुरुशुरुमा केही समय कुर्नुस् पठाउँछु भनेर छल्दै गयो । पछि पैसा फिर्ता गर्छु पनि भन्यो तर, अहिले सम्पर्कविहीन छ ।’

    श्यामलालका अनुसार उनिहरुलाई विदेश पठाउँछु भनेर ठगी गर्ने इन्द्रबहादुर अहिले कहाँ, के गर्दैछ भन्ने कसैलाई पत्तो छैन । ‘न फोन लाग्छ न कहाँ बस्छ भन्ने थाहा नै छ’, उनि भन्छन्, ‘ऋण गरेर पैसा दिएको अहिले ब्याज तिर्दातिर्दै बेहाल भएको छ ।’

    लमही नगरपालिका–५ निवासी दामोदर धिताल, शान्ताराम चौधरी र सन्दीप बुढाथोकीले वैदेशिक रोजगारको क्रममा रुस जाने भन्दै गुल्मीका टामलाल रिजाललाई प्रतिव्यक्ति रु चार लाखका दरले रु १२ लाख दुई पक्षबीच कागज बनाएरै बुझाए । रुसमा मासिक एक हजार २०० डलर कमाइ हुने भन्दै चार वर्षअघि पैसा दिएका थिए । तर लामो समय बितिसक्दा पनि उनिहरुले न त विदेश जान पाएनन् । न पैसा नै फिर्ता पाए । पीडितमध्येका एक दामोदरका अनुसार पैसा लगेको दुई वर्षसम्म विदेश नपठाएपछि प्रहरीको सहयोगमा ठगी गर्ने टामलाललाई पक्राउ पनि गरियो तर केही दिनभित्रै पैसा दिने सहमति गरेर प्रहरीबाट छुटेका टामलाल अहिले बेपत्ता छन् ।
    वैदेशिक रोजगारीका नाममा ठगिएका तीनै जना दुई वर्षदेखि उनकै खोजीमा छन् ।

    घोराही उपमहानगरपालिका–७ का १० युवाले पनि कामदारको रूपमा मलेशिया जाने भन्दै काठमाडौंमा भेटिएका शिवबहादुर कार्कीलाई प्रतिव्यक्ति रु ५० हजारका दरले रु पाँच लाख बुझाएका थिए । एउटै गाउँका तीन थारू युवासँग न त पैसा लैजाने कार्कीको सम्पर्क नम्बर छ न बस्ने ठेगाना नै थाहा छ । ठगीमा परेको भन्दै बिनाप्रमाण प्रहरीमा पुगेपछि प्रहरीले समेत आफूहरुको मुद्दा दर्ता नगरेको पीडितमध्येका प्रमोद चौधरीले बताए ।

    पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रम बढेपछि ठगी धन्दा पनि बढ्दो छ । वैदेशिक रोजगार ऐन, २०७५ (संशोधन) मा कसैले पनि वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानावापत असुल गरिने व्यवस्था छ । साथै त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई ठगी गर्ने व्यक्तिलाई रु तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ ।

    यद्यपि जिल्ला प्रहरी कार्यालय दाङसँग वैदेशिक रोजगारसम्बन्धी के कति मुद्दा परेका छन् भन्ने त्यसको कुनै छुट्टै तथ्याङ्क छैन । छिटपुट आउने गुनासालाई जिल्ला अदालत वा वैदेशिक रोजगार विभागमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखाका पदमप्रसाद बोहोरा बताउँछन् ।

    पछिल्लो समय वैदेशिक रोजगारमा लगाइदिने बहानामा होस् वा लोभलालच देखाएर गैरकानूनीरूपमा विदेश पठाउने क्रम बढ्दो छ । यसलाई नियन्त्रण गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले गत असार १ गते जिल्लाका सबै जिल्ला प्रसाशन कार्यालयलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्न भन्दै पत्रसमेत पठाएको छ ।

    गृहकै पत्रबमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि मुद्दा दर्ता गर्न थालेको छ तर वैदेशिक रोजगारसँग जोडिएको मुद्दामा दोहोरो छलफल चलाउने, क्षतिपूर्ति असुलउपर गर्ने कार्य भने अझसम्म हुनसकेको छैन ।

    वैदेशिक रोजगारसँग जोडिएको ठगी मुद्दा प्रशासनले हेर्ने जिम्मेवारी भए पनि आफूहरुले दर्ता गरेर प्रहरीलाई सिफारिस गर्ने गरेको जिल्ला प्रसाशन कार्यालय दाङका मुद्दा शााखा प्रमुख कुवेरजङ्ग खड्का बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # ठगी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology