मयुरपाटी-बादल शाही / नेपाल खेलकुद पत्रकार मण्चले आयोजना गर्ने NSJF पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस विधा तर्फ राष्ट्रिय महिला भलिवल टोलीकी टीम कप्तान अरुणा शाही मनोनयनमा परेपछि जिल्ला भलिवल संघ म्याग्दीले म्याग्देली चेली अरुणा शाही जिताऊँ अभियान सुरु गरेको छ । म्याग्दीको बेनीमा खेलप्रेमी तथा खेलाडीहरुको सहकार्यमा भोटिङ सहयोग अभियान सुरु भएको हो । प्राप्त सहयोग रकमलाई इसेवा मार्फत अरुणा शाहीलाई भोट गरिने खेलाडी तथा खेल प्रशिक्षक तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । यहि पौष २४ गतेसम्म म्याग्दीका विभिन्न ठाउँ तथा बेनी बजारमा रहेका विभिन्न स्कुल तथा कलेजहरुमा पनि अभियान सन्चालन गरिने बानियाले बताउनु भयो ।

अरुणा शाहीलाई जिताउन इसेवा एप डाउनलोड गरि आफ्नो इसेवा अकाउन्ट मार्फत भोट गर्न सकिन्छ । एक भोट बराबर रु ५ का दरले भोट गर्न सकिन्छ । एक जनाले जति पटक पनि जति धेरै पनि भोट गर्न सक्ने सुबिधा रहेको छ । साथै फेसबुक लाइक पेजको लागि फेसबुकमा pulsar sports award सर्च गरि प्रोफाइल वालमा रहेको अरुणा शाहीको फोटोलाई खोजेर लाइक गरेर पनि भोट गर्न सकिने जिल्ला भलिवल संघका अध्यक्ष् रमेशकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । भोटिङ समय गत पौष ३ गतेदेखि खुल्ला भइसकेको र यहि पौष २७ गते राती १२ बजेसम्म भोटिङ अबधि रहने छ ।

सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोग तथा भोट गरेर म्याग्देली चेलीलाई जिताउन संघका सचिव बिनय श्रेष्ठले म्याग्देलीहरुलाई अनुरोध गर्नु भएको छ ।
यसैगरी खेलाडी अरुणा शाहीले पनि सम्पूर्ण म्याग्देलीहरुको साथ् र माया पाउने कुरा बताएकी छिन । "जिल्ला, प्रदेश हुँदै आज देशकै नेतृत्वको रुपमा नेपाली राष्ट्रिय महिला भलिवल टिमको कप्तानको जिम्मेवारी सम्हालीरहेकी शाही आज अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्नु म्याग्देलीहरुको गौरवको कुरा हो" संघका उपाध्यक्ष खडक केसीले बताउनु भयो ।
अरुणाले सातौं र आठौं राष्ट्रिय भलिबल प्रतियोगितामा म्याग्दीबाट सहभागी भइ प्रदेश स्तरीय छनौट प्रतियोगितामा दुवै पटक नै पहिलो स्थान हासिल गरि छनौट भई म्याग्दीको नाम खेल जगतमा चिनाउदै अघि बढेको र आज दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा पनि देशकै नाम राखेको भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनु भयो । शाहीले १२ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक, १३ औं एसियाली खेलकुद प्रतियोगितामा अरुणाको कप्तानीमा रजत पदक र बंगलादेशमा भएको सिनियर सेन्ट्रल जोन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकी थिईन । भिडियो हेर्नु होला ।