Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाको वैधानिकता विवाद मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

नेकपाको वैधानिकता विवाद मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १०:२६:२३ बजे
  • 961
    SHARES
  • नेकपाको वैधानिकता विवाद मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

    निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो ।

    images

    त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ । आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्ययनपछि दुवै पक्षलाई पत्र पठाएको जनाएको छ । पत्रमा एक समूहलाई अपुग कागजात बुझाउन म्याद तोकिएको छ भने अर्को समूहलाई कानुनी जानकारी गराइएको उल्लेख छ ।

    आयोगका अनुसार दाहाल–माधव पक्षको पत्रमा पुरानो पार्टीमा रहेका केन्द्रीय सदस्यको बहुमत आफूसँग रहेकाले पार्टीको नाम, झन्डा र चुनाव चिह्न दाबी गरिएको छ । ओली पक्षको पत्रमा केन्द्रीय समिति विस्तार र विधान संशोधनबारे मात्रै आयोगलाई जानकारी गराइएको छ ।

    आयोगमा ती दुई समूहबाट फरक फरक मितिमा एक पक्षबाट तीन वटा र अर्को पक्षबाट दुई फरक मितिमा दुई वटा पत्र दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवैतर्फबाट प्राप्त केन्द्रीय समितिको निर्णयको प्रतिलिपि हेरेर आयोगले दुवै समूहलाई आवश्यक कानुनी प्रक्रियाका पुर्‍याउन पत्र पठाएको बताए ।

    ‘दुवै पक्षबाट आएका कागजात आयोगले हेरेको छ, एक पक्षले केन्द्रीय समिति विस्तार र विधान संशोधन गरेको जानकारी आयो । अर्को पक्षबाट पुरानो केन्द्रीय समितिमा बहुमत रहेको र निर्वाचन चिह्नसहितमा मागदाबी भएको पत्र प्राप्त भयो तर केही कानुनी प्रक्रिया मिल्न बाँकी रहेकाले पत्र पठाएका छौं,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

    संसद् विघटनको घटनापछि आयोगमा दुवै पक्षले आधिकारिकताको मागदाबी गर्दै आइरहेका छन् । दाहाल–नेपाल समूहले आयोगमा ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र पठाएर आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आइरहेको छ ।
    यस्तै ओली पक्षले भने केन्द्रीय समितिको संख्या विस्तार गरेर १ हजार १ सय ९९ पु¥याएको र विधान संशोधन गरिएको जानकारी आयोगलाई दिएको छ ।

    तर आयोगले पत्र पठाउँदा भने एउटा पक्षलाई मात्रै दिनै तोकेर आवश्यक निर्णय लिएर आउन भनेको छ भने अर्को समूहलाई जानकारी मात्र दिएको बेहोरा पत्रमा उल्लेख छ । आयोगका प्रवक्ता श्रेष्ठले भने केन्द्रीय समितिबाट आधिकारिक हौं भनी मागदाबी आएको तर कानुनबमोजिम भाषा खुलाएर पत्र नआएकाले कानुनी भाषासहित खुलाएर केन्द्रीय समितिबाट निर्णय गरी हस्ताक्षरसहित ल्याउन भनिएको जानकारी दिए ।

    आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो ।
    आयोगले नेकपाका अध्यक्ष दाहाललाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने बेहोराको जानकारीसहितको पत्र पठाएको छ ।

    सो पत्रमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भनिएको छ । तर प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको बेहोरा उल्लेख छ । उनलाई पठाइएको पत्रमा समय उल्लेख छैन । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology