३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ संक्रमित भएकी छन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय संक्रमणबाट सुरक्षित रहेकी थिइन् ।
उनी गत साता संक्रमित भएपछि होम आइसोलेसनमा छिन् । उनीसँगै श्रीमान् र आमासमेत संक्रमित भएका छन् । अधिकारीले भनिन्, “निकै गाह्रो हुँदो रहेछ ।” उनले टाउको, शरीर र छाती दुखेको बताइन् । उक्त प्रयोगशालामा दैनिक ६ सय सम्म स्वाब परीक्षण हुने गरेको थियो । सुरुवाती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घन्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि संक्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि संक्रमित भएँ”, डा अधिकारीले भनिन् “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”
जिल्लामा पोजेटिभ संक्रमित छ हजार ४ सय १२ जना पुगेका छन् । मृतकको सङ्ख्या १ सय १ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५ सय ८९ जना छन् । यस्तै माडीमा १ सय ३१, राप्तीमा ३ सय ११, रत्ननगरमा ७ सय ५७, खैरहनीमा ३ सय ९८, कालिका नगरमा १ सय ८८ र इच्छाकामनामा ३८ जना संक्रमित देखिएका छन् ।