पछिल्लो समयमा बढी चर्चामा रहेपनि झ्याप्प झ्याप्प बत्ती गइरहने समस्या पहिलेदेखिनै नियमित जसो हुँदै आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो प्रकृया अहिले मात्र नभएर पहिलेदेखिनै हुँदै आएको प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्र शाक्यले जानकारी दिए ।
शाक्यले यो प्रकृया पछिल्लो समय घटेको भएपनि मानिसले बढेको महसुस गरेको बताए । उनले भने, ‘पछिल्लो समय अघिल्लो समयभन्दा यो समस्या घटेको छ, तर मानिसहरु बढ्यो भनिरहेका छन् ।’
शाक्यले यो विभिन्न प्राविधिक तथा मानवीय कारण समस्या आएको बताए । दैनिक रुपमा ३–४ वटा गाडीले पोलमा ठक्कर दिने र पोल लडाउने कारण यो समस्या भएको उनले बताए । त्यस्तै बाँदरलगायत अन्य जनावरहरु तारमा हिड्दा तार जुधेर तार सर्ट हुने कारण यो समस्या आएको उनले बताए ।
प्राधिकरणको तथ्याङ्कअनुसार यो समस्या पछिल्लो समय ४० प्रतिशतले घटेको छ । शाक्यले कोरोना तथा लकडाउनको कारण मानिसले बढी विद्युतको खतप गर्ने कारण केही समस्या आउनासाथ लोडसेडिङ हुनैलाग्यो भन्ने बुझ्न थालेको उनले बताए ।
तर, पछिल्लो समय बत्ती गइरहने समस्या भने आम जनताले महसुस गर्नेगरी बढेको छ । अघोषित रुपमा लोडसेडिङ जस्तै गरी बत्ती जाने समस्या जनाताले भोगिरहनु परेको छ ।
कहिले ट्रान्सफर्मरमा समस्या, तारहरुमा समस्या आउने कारण पनि बत्ती जाने गरेको शाक्यले बताए । उनले यो समस्यालाई न्यूनिकरण गर्न प्राधिकरण लागिरहेको बताए । प्राधिकरणको कर्मचारी अहिलेपनि यो समस्या समाधान गर्न निरन्तर लागिरहेको उनले बताए ।
प्राविधिक रुपमानै विभिन्न समस्या निकालेर प्राधिकरणकै कर्मचारीले यस्तो समस्या सृजना गर्न लागिरहेको आरोप पनि लाग्न थालको छ । प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले अवकास लिएपछि इन्भर्टर, जेनेरेटर तथा बत्ती व्यापारीहरु पुनः लोडसेडिङ गराउन चलखेल गरिरहेको जानकारहरु बताउने गर्दछ ।
त्यस्तै, अहिलेको समय विद्युत लोड बढी हुने समयको कारण पनि मानिसलाई विद्युत आवश्यक मात्रामा प्रयोग गर्दा लोड बढी भएर यो समस्या आएको शाक्यले बताए । यो समयमा अहिले मात्र नभएर अघिल्लो वर्षपनि यस्तो समस्या आएको शाक्यले बताए ।
अघिल्लो वर्ष पनि यस्तो समस्यामा मानिसले लोडसेडिङ हुने आशंका गरेको बताउँदै अब नेपालमा लोडसेडिङ नहुने कुरामा ढुक्क हुन पनि शाक्यले आग्रह गरेका छन् । आम नागारिक भने प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न लागिरहेको बताउन थालेका छन् ।
nagarikkhabar