Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट ५०० बढीले लिए सेवा

एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट ५०० बढीले लिए सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १२:३८:३९ बजे
  • 1.6K
    SHARES
  • एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट ५०० बढीले लिए सेवा

    दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यसेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५ सय १२ सेवाग्राहीले सेवा लिएका छन् ।

    images

    आयुर्वेद शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३ सय २६ महिला र १ सय ८६ पुरुषले परीक्षण गराएको जानकारी दिए । “हामीले गाउँगाउँमा आयुर्वेदिक जानकारी र जनचेतना जगायौँ भने अझै बढी मानिस त्यतातिर आकर्षित हुनेछन् । गाउँ र टोलमा आयुर्वेदिक आमा समूह गठन गरेर आयुर्वेदबारे जानकारी दिनुपर्छ । स्थानीय पाठ्यक्रममा समेत यो विषय समावेश गरिनुपर्छ”, चिकित्सक नेपालले थपे ।

    शिविरमा ग्यास्ट्रिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग र हाडजोर्नी दुख्नेजस्ता समस्याको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा पुरुषभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद शाखाका आस प्राविधिक(कविराज) रामप्रसाद महत्तोले बताए । एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको उनले विश्वास गरे । “जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो”, उनले भने ।

    शिविरमा अधिकांश बिरामीमध्ये बाथरोग र पाठेघर समस्या भएका महिला आएको शाखाकी बैद्य रीताकुमारी शाहीले बताइन् । उनले भनिन्, “म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राख्नुभयो । शिविरमा आएका महिलामध्ये ६० प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको छ । सेतो पानी बग्ने तथा तल्लो पेट दुख्ने गरेका महिला बढी भेटिए । १६ वर्षदेखि माथिका सबै महिलामा यो समस्या छ ।”

    उनका अनुसार पश्चिमका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने, पोषण खानेकुरा खानबाट वञ्चित हुने तथा गहु्रङ्गो भारी बोक्ने कारणले गर्दा समस्या आएको हो । यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ ।

    नागरिक आरोग्य सेवा केन्द्र स्थापना
    शिविरकै दिन चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच सजिलै होस् भन्नका लागि केन्द्र स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार र चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्य बहादुर शाही संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरे ।

    नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयवासीलाई सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा नीरञ्जन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख शाहीले नगरपालिकामा सेवा सञ्चालनका लागि पहल गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले दूर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने जानकारी दिए ।

    प्रजिअ सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । “औषधि आएर मात्रै आरोग्य हुँदैन, त्यसका लागि खानेकुरामा ध्यान दिनुपर्छ”, उनले भने । बजारमा म्याद समाप्त भएका सामग्रीको दैनिक प्रयोग गर्दा रोगी हुने गरेको सुनारको भनाइ थियो । उनले सामग्री खरिद गर्दा म्याद हेरेर मात्र खरिद गर्न अनुरोध गरे । उनले मध्यपान, धूमपान छाड्न आग्रह गरे ।

    आरोग्य सेवा केन्द्रले नगरपालिकाका ज्येष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म र पञ्चकर्म सेवा दिने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • # आयुर्वेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology