Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माघीको चहलपहल बढ्यो

माघीको चहलपहल बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • ११:२३:३२ बजे
  • 1.2K
    SHARES
  • माघीको चहलपहल बढ्यो

     थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदाय नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

    images

    माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

    माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही–७ वेसाहीका अनुपमा चौधरीले बताइन । उनका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउने काम चलिरहेको छ । माघीको सम्पूर्ण तयारी पूरा भएको छ ।

    यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइ नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो । घरको काम छिटो सकेर आरामले माघी मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु जुटेका छन ।

    थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरीले बताए । “वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि माघी महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन”, उने भने, “पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।”

    सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरीले बताए ।

    थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारू समुदायको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए ।

    घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउन पर्ने बताए । यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # माघी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology