नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्य सफल बनाउन सरकारले नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा आजैबाट Beta Version शुभारम्भ गरेको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले आज एक कार्यक्रमका बीच यसको शुभारम्भ गरे । उनले उक्त एपको सार्वजनिकीकरण गर्दै भने, “नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत् सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन सबैमा हार्दिक अनुरोध गर्दछु ।”
यसमा नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य वमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको बताएको छ ।
नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ । यस एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ ।
“लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिनेछ ।
नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले App Store बाट Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।
डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेबमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु एकीकृत तथा अन्तरआवद्ध गरी सहज र प्रविधिमैंत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइने उद्देश्य अनुरुप एउटा कार्यको रुपमा नागरिक एप सार्वजनिक गरिएको हो ।
एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने छ । हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपवाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुनेछ । यो नागरिक एप प्रयोग गर्ने कार्यविधि सार्वजनिक गरिनेछ ।