म्यादीको पहिरोमा परी मृत भेटिएका २० जनाकै सनाखत भएको छ ।शुक्रबार बिहान गएको पहिरोमा परी म्याग्दीका ३३ जना बेपत्ता भएका थिए । तीमध्ये २० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए । बेपत्ता १३ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मृत भेटिएकामध्ये मालिका गाउँपालिका–७ विमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका नाम नखुलेका छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन्।
यस्तै, धौलागिरी गाउँपालिका–६ मराङको पहिरोमा परी मृत भेटिएकाहरूमा सुकना लामगाँदे, आशिष लामगाँदे, आयुष लामगाँदे, आयुषा लामगाँदे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसी रहेका छन् । उनीहरूको शनिवार शव फेला पारेको हो ।
यसअघि शुक्रवार रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० वर्षीय ललितमान पुराने छन्त्याललाई खोलाले बगाएको अवस्थामा मृत फेला पारिएको थियो भने तुलबहादुर क्षेत्री पनि मृत अवस्थामा फेला परेका थिए ।
पहिरोमा बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उद्धारका लागि हेलिकोप्टर पनि प्रयोग गरिएको छ ।
११ जनाको उपचार हुँदै
प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी रानाका अनुसार हेलिकोप्टरबाट उद्धार गरिएपछि मालिका गाउँपालिका–७ बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको म्याग्दीकै बेनी अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।
यस्तै धौलागिरी गाउँपालिका–६ की गर्भवती समेत रहेकी २२ वर्षीया मन्जिता श्रीपालीलाई म्याग्दीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। ढाडमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरिएकी उनी पनि बोल्न नसक्ने अवस्थामा रहेकी छिन् । सोही ठाउँका ७ वर्षीय बालक सफल श्रीपालीलाई पनि मणिपालमा उपचार भइरहेको छ । सफल पनि बोल्न सक्ने अवस्थामा छैनन् ।
बेनी अस्पतालमा पूर्णबहादुर बाहेक अन्य ८ जनाको पनि उपचार चलिरहेको छ । उनीहरू धौलागिरी गाउँपालिका ६ मराङको रिखाका १२ वर्षीय अङ्कित जुग्जाली, ३५ वर्षीय कुशल पुन, १६ बर्सिया बिर्सना जुग्जाली, ३४ वर्षीय धनबहादुर जुग्जाली, ८७ बर्सिया गौमती सुनार, २२ वर्षीय दीपक श्रीपाली, वडा नम्बर ७ ताकमका ६७ वर्षीय सतदेवी बिटालु र ७२ वर्षीय हरि बिटालु रहेका छन् । आठै जनाको अवस्था सामान्यदेखि मध्यम खालको रहेको छ ।