दाङमा सहल किरा फेरि देखिएको छ । असार १६ गते दाङमा आएको सहल किरा पुनः आइतबार दाङमा देखिएको हो । दाङको राप्ती गाउँपालिका वडा नम्बर २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । गाउँ नै ढाक्ने गरी सलह किरा आएको स्थानीले बताएका छन् । सलह उडेको देख्नासाथ स्थानीयले खेतबारीमा पुगेर रित्ता भाँडा ठटाएका छन् । सलहले मकैबाली खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका स्थानिय बासुदेव न्यौपानेले जानकारी दिए ।
अघि दाङमा सलह किराले झण्डै साढे ३ सय हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको थियो । सलहले मकै, धान र तरकारीबालीमा गरी ३ सय ३८ हेक्टर क्षेत्रफलमा क्षति गरेको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिकामा ६ हेक्टर, तुलसीपुर उपमहानगरपालिकाका ५० हेक्टर, लमही नगरपालिकामा १५ हेक्टर, शान्तिनगरगाउँपालिकामा २ सय हेक्टर, दंगिशरणमा २० हेक्टर, बंगलाचुलीमा ५० हेक्टर, गढवा र राप्तीमा डेढ डेढ हेक्टर क्षेत्रफलमा लगाईएको मकै, धान र तरकारीबालीमा सलहले नोक्सान पुर्याएको छ ।
३ सय ३८ हेक्टर क्षेत्रफलमा सलह बसेको र आंशिक देखी पूर्णरुपमा क्षति पुर्याएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणी पौडेलले जानकारी दिए । (अन्नपूर्ण पोस्ट)