पोखरा - १५ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको पुरुष तर्फको उपाधी सबै सेनाले जितेको छ । महिला तर्फको भने उपाधी प्रहरीकी एक धावकले जितेकी छन ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरूले प्राप्त गरे ।
सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी रु एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु ७५ हजार प्राप्त गरे । पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित रु २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भए ।
यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जित्न सफल भइन् । निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उनले रु एक लाख र ट्रफी पुुरस्कार प्राप्त गरिन् ।
यसैगरी जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई रु ७५ हजार पुुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरिन् । उनले रु ५० हजार पुरस्कार पाउन सफल भइन् ।
नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर रु १५ हजार पुरस्कार प्राप्त गरिन् । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएकामा म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे । विगतका संस्करणमा विदेशी धावकहरूले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जित्न सफल भएका थिए ।